सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित चार वटा पानी उद्योग बन्द गराइएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट आएको अनुगमन समितिले अनुगमन गर्दा पानी उद्योग नवीकरण नगरिएको र विभिन्न किसिमका लापरवाही गरेको पाइएपछि उद्योग बन्द गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिए ।

उनका अनुसार लालबन्दी र हरिवन नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित चार वटा पानी उद्योगहरुको अनुगमन गर्दा विभिन्न किसिमका लापरवाही गरेको पाइएपछि उत्पादन र बिक्री वितरण तत्काल बन्द गराएर प्रयोगशालामा परीक्षणका लागि पानीको नमूना संकलन गरिएको हो ।

लालबन्दी नगरपालिका १ मा जुनैद अन्सारीले दर्ता नै नगरी अखाद्य रंङ हालेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उत्पादित कटन क्याण्डी र मेसिन समेत बरामद गरिएको छ भने हरिवन नगरपालिका ४ मा रहेको टाइम्स ड्रिकिङ वाटर फूड प्रोडक्ट प्रा.लि.तीन वर्षदेखि नवीकरण नभएको र उद्योगको सरसफाई पनि सन्तोषजनक नभएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।

यस्तै हरिवन नगरपालिका ४ मै रहेको सर्लाही रिफ्रेस ब्राण्डको पानी उत्पादन गर्ने जय हनुमान ड्रिङकिङ वाटर प्रा.लि.ले पनि छ वर्षदेखि अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको,लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको नेशनल वाटर एण्ड वेभरेज प्रा.लि.ले उत्पादन गरेको शिरिस ब्राण्डको पानीको अनुज्ञा पत्र नै देखाउन नसकेपछि उद्योग बन्द गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरिक्षक तिवारीले बताए ।

प्रशोधित पानी बनाउँदा मेसिनको प्रयोग गर्नुपर्नेमा नेशनल वाटर एण्ड वेभरेज प्रा.लि.ले हातबाटै पानी भर्ने काम गर्ने गरेको पाइएको साथै लालबन्दी नगरपालिका २ जुटपानी कै शिव पार्वती वाटर एण्ड बेभरेज प्रा.लिले उत्पादन गरेको तृष्णा ब्राण्डको पानी उद्योगले नवीकरण नगरी सञ्चालन गरेको पाइएको कार्यालयले जनाएको छ ।

बन्द गरिएका चारवटै पानी उद्योगको पानीको नमूना जनकपुर लगेर प्रयोगशालामा परीक्षण गरेपछि जाँच परीक्षण रिपोर्ट अनुसार कारवाही गरिने खाद्य निरीक्षक तिवारीले बताए। लालबन्दी र हरिवनमा रहेका पानी उद्योगले लापरवाही गरेको गुनासो आएपछि जनकपुरबाटै खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयको टोली आएर पानी उद्योगहरुको अनुगमन गरेको हो ।
जनकपुर सहित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय मलंगवा, इलाका प्रशासन कार्यालय हरिवन र लालबन्दी तथा हरिवन नगरपालिकाका प्रतिनिधिहरुको उपस्थितिमा पानी उद्योगहरुको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय मलंगवाका प्रमुख भरत बहादुर पुरीले जानकारी दिए ।
सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा सञ्चालित नेशनल वाटर एण्ड वेभरेज प्रा.लिको उत्पादन सिरिश र शिव पार्वती वाटर एण्ड बेभरेज प्रा.लिको उत्पादन तृष्णा पानीमा यस अघिपनि विभिन्न किसिमका अखाद्य वस्तुहरु फेला परेका भएपनि सरोकारवाला निकाय तातेको थिएन् ।