सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरुमा विगत तीन दिन देखी चिसो बढ्दै गएको छ। बिहीबारबाट एक्कासि चिसो बढ्न थालेपछी सर्लाही सहित मधेश प्रदेशको जनजीवन प्रभावित बन्दै गएको हो । यस पहिला बिहान बेलुका मात्र चिसो हुँदै आएकोमा बिहीबारबाट एक्कासि कुहिरो र हुस्सुले छोपेर दिनभरी नै घामलाग्न छोडेपछि जनजीवन प्रभावित भएको हो ।
तीन दिन देखी लगातार हुस्सु लागेर चिसो महसुस भइरहेको र दिन प्रतिदिन चिसो बढ्दै जाँदा दैनिक कामकाजमा निस्कन समेत समस्या भएको स्थानीयले बताए । चिसोले सबै भन्दा धेरै वृद्धवृद्धा,बालबालिका र दैनिक ज्याला मजदुरी गर्ने परिवार प्रभावित हुने गरेका जानकारहरु बताउँछन् ।विद्यालय जानु पर्ने बालबालिकाहरू कठ्याङ्ग्रिने अवस्था सृजनाहुन थालेको छ ।एक्कासि बढेको चिसोले स्वास्थ्यमा समेत समस्या पान थालेको चिकित्सकहरु बताउँछन् । चिसो बढे सँगै जिल्लाका विपन्न परिवारलाई जाडो कसरी छल्ने?भन्ने चिन्ताले पिरोल्न थालेको छ ।विपन्न परिवारहरू हरेक वर्ष जाडोमा पराल ओड्ने र परालनै ओच्छाउने गरेर जाडो छल्न बाध्य हुने गरेका छन् ।
यस्तै मौसम परिवर्तनका कारण जिल्लामा रुघा खोकी तथा भाइरल ज्वरोका विमारी समेत बढेका लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए ।उनका अनुसार एक्कासि परिवर्तन भएको मौसमले विभिन्न भाइरल सङ्क्रमण भएका बिरामीहरु अस्पतालमाआउन थालेका छन्।जाडो मौसममा ज्वरो तथा रुघा खोकीका साथै कोल्ड डाईरिया लगायतको समस्या हुन सक्ने भएकोले स्वास्थ्यको ख्याल गर्न समेत डा.चौधरीले अनुरोध गरे ।चिसोबाट बच्न तातो र न्यानो कपडा लगाउने,ज्वरो रुघाखोकी लामो समय लागेमा तत्काल अस्पताल जाने,सफा,तातो र झोलिलो खानेकुरा समय समयमा खानुपर्ने जनस्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख डा.नवल किशोर झाले बताए ।
त्यसैगरी,हुस्सु र कुहिरोका कारण दृष्य कमजोर हुने भएकाले दुर्घटनाको जोखिम बढ्ने भएकाले यात्रा गर्दा विषेश सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले आग्रहगरे ।उनले सवारी सञ्चालन गर्दा उपयुक्त बत्तिको प्रयोग गर्न र बिस्तारै यात्रा गर्न यातायात व्यावसायीहरुका साथै यात्रीहरुलाई आग्रह गरे ।चिसो धेरै बढेमा न्यानो कपडा लगाउने,तातो पेय पदार्थ सेवन गर्ने,चिसो धेरै बढेमा घरबाट बाहिरि ननिस्कने,शारीरिक गतिविधि गर्ने,ताजा खानेकुरा खाने र स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरुले अनुरोध गरेका छन् ।