लामो समय कर्माचारी तन्त्रले चलाएका देशभरका स्थानीय तहहरु संघीय संरचना पछि निर्वाचित भएर आएका जनप्रतिनिधिहरु र कर्माचारीहरु वीच तालमेल नमिलेका कारण आन्तरीक राजश्व संकलनमा समस्या देखिएको छ।सिन्धुलीका नौ वटा स्थानीय तहहरुलाई स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार संकलन गर्न पाउने राजश्व उठाउन सकस भएको हो ।जिल्लाका पुरानो नगरपालिका कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा मनोरञ्जन कर उठाएको थियो। नगरपालिकाले प्रदेश सञ्चित कोषमा करिब रु १६ हजार मनोरञ्जन कर जम्मा गरेको थियो।स्थानीय तहले उपदफा २ बमोजिम विभागिय कोषमा जम्मा भएको रकममध्ये ६० प्रतिशत रकम आफ्नो स्थानीय सञ्चित कोषमा र ४० प्रतिशत रकम प्रदेश सञ्चित कोषमा दाखिला गर्नु पर्ने व्यवस्था अनुसार नगरपालिकाले ४० प्रतिशत मनोरञ्जर कर जम्मा गरेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा भने मनोरञ्जन कर उठाउन सकेनन्। नगरपालिकाले गत आर्थिक वर्ष एक रुपैँया पनि मनोरञ्जन कर उठाउन नसकेको हो।कर उठाउन नसकेको कारण नगरपालिकाले प्रदेश सञ्चित कोषमा एक रुपैया पनि जम्मा गर्न सकेको छैन।पालिकाले बाल उद्यान,पार्क,ताल,तलैया,जीपलाइन,प्याराग्लाइडिङ,मेला,महोत्सव लगायतका मनोरञ्जन स्थलमा अनुसूची ३ बमोजिमको मनोरञ्जन कर लगाइने र असुल उपर गरिने व्यवस्था रहेको छ तर जिल्लाका नौँ वटै स्थानीय तहले मनोरञ्जन कर उठाएका छैनन् ।
कमलामाई नगरपालिकाले पनि अघिल्लो वर्ष २०७९÷०८० मा विज्ञापन कर बापत रु दुई लाख २६ हजार राजश्व प्रदेशको सञ्चित कोषमा जम्मा गरेको थियो। यो नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा एक रुपैया पनि उठाउन सकेको छैन्।बारम्बार ठेक्का खुलाउँदा समेत कुनै पनि कम्पनीले ठेक्का नहालेका कारण नगरपालिकाले विज्ञापन कर उठाउन नसकेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।
गोलन्जोर गाउँपालिकाले अघिल्लो वर्ष २०७९/०८० मा विज्ञापन कर बापत रु ८२ हजार प्रदेश सञ्चित कोषमा जम्मा गरेको थियो।विज्ञापन करको ४० प्रतिशत अर्थात रु ८२ हजार प्रदेशमा जम्मा गरेको भएपनि आर्थिक वर्ष २०८०/०८१ मा एक रुपैया जम्मा गरेको छैन । गाउँपालिकाले २०८०/०८१ मा विज्ञापन कर नउठाएको कारण जम्मा गर्न नसकेको हो । ठेक्का नलागेको कारण कर उठाउन नसकेको गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त चौधरीले बताए ।
मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ४० प्रतिशत कर वापत रु १४ लाख १५ हजार प्रदेशको सञ्चित कोषमा जम्मा गरेको थियो।गत आर्थिक वर्ष २०८०/०८१ मा भने गाउँपालिकाले एक रुपैया पनि जम्मा गर्न सकेको छैन।गाउँपालिकाले प्रदेशको सञ्चित कोषमा कर नपठाएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताए ।