लखनदेही खोला लालबन्दी र हरिवन दुवैको दाबी,दुवैले लगाउने ठेक्का

424 Shares

सर्लाहीको लखनदेही खोलाबाट नदीजन्य पदार्थको उत्खन्न गर्न दुई पालिकाले ठेक्का लगाएका छन्।लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा रहेको लखनदेही खोलामा लालबन्दी नगरपालिकाले केही दिन पहिला ठेक्का लगाई सम्झौता समेत गरि सकेको भएपनि हरिवन नगरपालिकाले फेरी सोही खोला उत्खन्नका लागि ठेक्का आव्हान गरेको हो ।
हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि नदीजन्य पदार्थको उत्खनन, घाटगद्दी तथा बिक्री वितरणका लागि लिइने दहत्तर बहत्तर शुल्क असुली गर्ने कार्यको लागि मंसिउर ७ गते बोलपत्र आव्हान गरेको छ,भने लालबन्दी नगरपालिकाले असोज १ गते सूचना जारी गरि लखनदेही नदीको लालबन्दी नगरपालिका तर्फको बाहुने नाका,कोईरी टोल नाका र नवलपुर नाकाका साथै हरिपुर नगरपालिका तर्फको गणेश चोक नाका,मोहनपुर नाका र धङती टोल नाकाबाट ढुङ्गा,गिट्टी,ग्राभेल र बालुवा निकासीका लागि ठेक्का लगाएको भएपनि हरिवन नगरपालिकाले फेरी मंसिर ७ गते एक सूचना जारी गरि लखनदेही खोला भएर बग्ने नदीको पुर्व पश्चीम राजमार्ग अन्तरगत हरिवन नगरपालिका तर्फको पुलदेखी उत्तर तर्फ वडा नम्बर २,३,४ र पूल देखि दक्षिण तर्फ वडा नं.४ र ५ सम्म नदीजन्य पदार्थ उत्खन्न तथा बिक्रि वितरण गर्नका लागि बोलपत्र आव्हान गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ (क) र हरिवन नगरपालिकाको आर्थिक ऐन २०८० को दफा १४ को व्यवस्था बमोजिम तपशिलमा उल्लिखित नदि स्वीकृत घाटहरुबाट निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् गरी हरिवन नगरपालिकाको आर्थिक ऐन २०८० को अनुसूची १२ मा तोकिएको प्रति इकाई दरमा हरिवन नगरपालिकाले तोकेको दरमा विक्रि गर्ने गरी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति,फर्म वा कम्पनीहरुले फर्मको नवीकरण भएको प्रमाणपत्र,मूल्य अभिवृद्धि कर वर्ता प्रमाणपत्र,आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी,कारवाहीको वा कालोसूचीमा नपरेको स्वघोषणा,अख्तियारनामा सहित शर्तहरुको अधीनमा रही विद्युतिय माध्यमद्वारा बोलपत्र प्रकृयामा सहभागी हुन भन्दै सूचना प्रकाशन गरेको हो ।हरिवन नगरपालिकाले ती क्षेत्रहरुबाट न्युनतम बोलपत्र रकम भ्याट बाहेक रु ४२ लाख ८९ हजार सात सय ६० सहित बोलपत्र आव्हान गरेको छ ।
यता,सर्लाहीको लालबन्दी नगरपालिकाले कालिन्जोर रलखन्देही खोलाबाट नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारीका लागि ठेकका लगाएको छ।आर्थिक बर्ष २०८१/०८२ को लागि नदीजन्य पदार्थको उत्खनन्,घाटगद्दी,विक्री वितरण तथा आन्तरिक निकासी गर्नका लागि भन्दै कालिन्जोर खोला एक करोड २९ लाख ९८ हजार सात सय ६६ रुपैँया २९ पैसा र लखन्देही खोला एक करोड २८ लाख ७१ हजार नौ सय ५५ रुपैँया ४३ पैसामा महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का सकार गरेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
कालिन्जोर खोलाको भोर्लेनी नाका,रानिगन्ज नाका,रेल्वे पुल नाका र जब्दी दोभान नाकाका साथै लखन्देही खोलाको बाहुने नाका,कोईरी टोल नाका,हिरापुर नाका,नवलपुर नाका,गणेश चोक नाका,मोहनपुर नाका र धङती टोला नाकाबाट नदीजन्य पदार्थको उत्खनन्,घाटगद्दी,विक्री वितरण तथा आन्तरिक निकासी गर्नका लागि भन्दै नगरपालिकाले असोज १ गते बोल पत्र आव्हान गरेको थियो ।
आवहान गरिएको बोलपत्र विद्युतिय प्रणाली मार्फत दर्ता गर्नु पर्ने र बोलपत्रहरु मध्ये अधिकतम मूल्यांकित बोलपत्र सारभूत रुपमा प्रभावग्राही भई मूल्यांकन समितिको सिफारिसको आधारमा स्वीकृत भए बमोजिम लालबन्दी नगरपालिकाको सार्वजनिक खरिद नियमावलि २०७६ को नियम १४० अनुसार महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का सकार गरेको लालबन्दी नगरपालिकाले जनाएको छ ।
लालबन्दी नगरपालिकाको भदौ ३१ गतेकोे निर्णय तथा स्थानीय सरकार संचालन ऐन,२०७४ को दफा ११ र दफा ६२ मा उल्लेखित व्यवस्था,नेपाल सरकारबाट जारी भएको “ढुङ्गा,गिट्टी तथा बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ मा उल्लेखित मापदण्ड, मधेश प्रदेशको आर्थिक ऐन,२०८१ को दफा ८ मा निर्धारित प्रक्रिया,कालिन्जोर र लखन्देही खोलाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण(आईईई)प्रतिवेदन,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,टंगाल,काठमाडौँको सुझाव र बोलपत्रमा उल्लेखित शर्त बमोजिम यस लालबन्दी नगरपालिकाले निर्धारित मापदण्ड बमोजिम नदिजन्य पदार्थ निकाली लालबन्दी नगरपालिकाले तोकेको दररेटमा बिक्री गर्ने गरी ठेक्का बन्दोबस्त गरेको जनाएको छ । पुर्व पश्चीम राजमार्गको स्तरोउन्नतीका लागि ठेक्का लागेपछि पालिकाहरुले आन्तरीक राजश्व संकलनको वाहनामा एउटा खोलामा दुई पालिकाले दाबी गरेर नदीजन्य पदार्थहरुको निकासीका लागि ठेक्का लगाएका हुन ।लखनदेही खाेला हरिवन र लालबन्दीले र फुलजाेर खाेला ईश्वरपुर र लालबन्दीले आलाे पालाे गरेर ठेक्का लगाउने गरेका छन् । यसरी ठेक्का लगाउने प्रचलनमा लखनदेही खाेला यस वर्ष लालबन्दी  नगरपालिकाले र फुलजाेर खाेला ईश्वरपुर नगरपालिकाले ठेक्का लगाउनु पर्ने हाे । भने लखनदेही खाेला गतवर्ष हरिवन नगरपालिकाले ठेक्का लगाउनु पर्नेमा लगाएकाे थिएन् ।

सम्बन्धित समाचार