सर्लाहीमा नेकपा एमालेको नेपाल–खनाल समूहले आइतवार जिल्ला कमिटी विस्तार गरेको छ । जिल्लाको बरहथवाको मूर्तियामा सम्पन्न ७ औँ जिल्ला महाधिवेशनबाट निर्वाचित साबिक जिल्ला कमिटीको १९ औँ बैठकले ७९ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेको हो ।

७ औँ जिल्ला महाधिवेशनबाट निर्वाचित साबिक जिल्ला कमिटीको १९ औँ बैठकले ७९ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गरेर ३ सय ५१ सदस्यीय जिल्ला कमिटी बनाएको नेकपा (एमाले) सर्लाहीले जनाएको छ । जिल्ला कमिटीको १९ औँ बैठकले जिल्ला कमिटीको उपाध्यक्ष पदमा देवेन्द्र यादवलाई चयन गरेको छ । तत्कालिन जिल्ला कमिटी उपाध्यक्ष ध्रुव गौतमको निधन भएपछि सो पद रिक्त रहेको थियो ।
नेकपा(एमाले) प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले बैशाख महिनाभित्र वडा तहसम्मै पार्टी तथा जनवर्गिय संगठनहरु पुर्नरगठन गर्ने र जेठ महिनाभर प्रशिक्षण संचालन गर्ने निर्णय गरेको एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो ।

अध्यक्ष पन्तकै अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभा सदस्य बेची लुंगेली,केन्द्रीय कमिटी सदस्यद्वय लक्ष्मण पौडेल र रवीन्द्र बैठा, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, नेता गोविन्द अधिकारी, नेतृ रन्जना सरकार, सुरेन्द्र लामालगायतको उपस्थिति रहेको नेकपा(एमाले) सर्लाहीले जनाएको छ ।