समिति नेतृत्व विहिन हुँदा परियोजनाका कर्मचारी नौ महिनादेखि तलब विहिन

355 Shares

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वन पैदावार विकास समिति विगत करिब तीन महिना देखि नेतृत्व विहिन हुँदा सागरनाथ वन परियोजनाका कर्मचारीहरु तलब विहिन भएका छन् ।समितिका अध्यक्ष राजदेव यादवले करिबतीनमहिना पहिला राजिनामा दिएपछि वन पैदावार विकास समिति नेतृत्व विहिन हुँदा परियोनजामा कार्यरत करिब एक सय ४० जना कर्मचारीहरु करिब नौ महिना देखि तलब विहिन भएका छन् ।
नेपाल सरकार मन्त्री परिषद्ले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको र यस विषयमा वन तथा वातावरण मन्त्रालय र नेपाल सरकार मन्त्री परिषद् मौन बस्दा परियोजनामा कार्यरत कर्मचारीहरु तलब विहिन भएका हुन ।“परियोजनाको याडमा करिब रु १५ करोडको काठ थन्किएको छ।निर्णय गर्ने वन पैदावार विकास समिति नेतृत्व विहिन छ।परियोजना प्रमुखले मात्रै निर्णय गरेर तलब खुवाउन पाउने अधिकार छैन् ।”परियोजनाका एक कर्मचारीले बताए।उनका अनुसार परियोजनामा लामो समय काम गरी अवकाश भएका अवकाश प्राप्त कर्मचारीहरुले अवकाश पछि पाउने सेवा सुविधा समेत पाएका छैनन् ।
“पहिला काठ मापन गर्ने शुत्र परिवर्तन भएकाले परियोजनाको काठ बिक्रि लिलामी भएन् ।अहिले फेरी पुरानै शुत्रमा काठ विक्रि लिलामी गर्न मन्त्रालयबाट परिपत्र भएपनि लामो समयदेखि खुल्ला ठाउँमा राखिएका काठको अवस्था विग्रेका कारण कुनै काठ व्यवसायीहरुले काठ लिन मान्दैनन् ।अब तलब खान परियोजनासंग पैसा पनि छैन् ।”परियोजनाका कर्मचारीले बताए ।“परियोजना आर्थिक रुपमा धारासायी भएको छ।कर्मचारी व्यावस्थापन भएको छैन् ।भएका कर्मचारीहरु पनि लामो समयदेखि तलब खान नपाएपछि कुन मानसिकताले काम गर्छन् ?”उनले प्रश्न गरे ।
परियोजना क्षेत्रमा उत्पादन भएको टिक, िससौँ, कर्मा, जामुन, अस्ना, टुनी,शिरिष,भुडकुल,गुटेल र बाँझी आदि प्रजातिका काठ लामो समयसम्म बाहिरै राखिँदा कुहिने अवस्थामा पुगेका छन् ।ठेकेदारले यस प्रकारका काठ खरिद गर्न नचाहेका र काठ बिक्री नहुँदा परियोजनाका कर्माचारी करिब नौ महिनादेखि तलब विहीन भएका परियोजनाका अर्का कर्मचारीले बताए ।काठ बिक्री नभएपछि यसको प्रभाव वन पैदावार विकास समितिलाई परेको छ।समितिले सागरनाथ वन परियोजनाकै वन पैदावार बिक्रीको आम्दानीबाट खर्च व्यवस्थापन गर्दै आएको भए पनि लामो समयदेखि काठ बिक्री नहुँदा समिति अहिले आर्थिकरुपमा धरासायी बन्दै गएको परियोजनाका निमित्त प्रमुख खेमलाल वि.क.ले बताए ।
उनका अनुसार हाल समिति अन्तर्गत सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना केर्खा झापा गरी दुई वन विकास परियोजना सञ्चालनमा छन्।काठको यही समस्याका कारण समिति सहित यी आयोजनामा कार्यरत करिब एक सय ४५ जना कर्मचारीले विगत करिब नौ महिनादेखि नै तलब खान नपाएपछि केही समय पहिला परियोजनाका कर्मचारी आन्दोलित समेत भएका थिए ।
एकातिर परियोजना क्षेत्रमा उत्पादन भएको काठ नबिकेर वनमा सड्ने अवस्थामा पुगेको छ भने अर्कोतिर कर्मचारीले करिब नौ महिनादेखि तलब पाएका छैनन्।यसको दोष काठ मापनको नयाँ शूत्र , समितिको अध्यक्ष आदी रहेका परियोजनाले जनाएको छ।नौ महिनासम्म तलब खान नपाउँदा घर खर्च चलाउन मुस्किल भएको साथै कर्मचारीको मनोबलसमेत खस्केको नेपाल निजामती कर्मचारी संगठन सागरनाथका अध्यक्ष छत्रबहादुर लामाले बताए।“एक महिना ढिलो तलब आउँदा सबैलाई कति गाह्रो हुन्छ।नौ महिनासम्म पनि तलब नआउँदा हामीलाई कस्तो भयो होला?”“जङ्गलमा काठ सडाएर हाम्रो पेट भोको कतिञ्जेल राख्ने?राज्यको सम्पत्ति जङ्गलमा नै सडाएर फाल्ने ?”उनले प्रश्न गरे ।
सरकारले समस्या समाधान गर्ने आश्वासन दिए पनि काम नगरेका कारण सोही समस्या बल्झिएको सागरनाथ वन परियोजनाले जनाएको छ ।“परियोजनाको मात्रै काठ बिक्री भए वार्षिक करिब रु २५ करोड आम्दानी हुन्छ,समस्या समाधन हुन्छ तर,कहीले शूत्रको वाहना त कहिले समितिमा नेतृत्व नहुनु लगायतका कारण समस्या भयो ।जसका कारण काठ व्यवसायीहरुले काठ किन्नै मानेनन्।आम्दानीको बाटो नै बन्द हुँदा समस्या आएको हो”,उनले भने ।
यता,“प्रदेश सरकारले परियोजना प्रदेश सरकार मातहत हुनु पर्ने भन्दै मुद्धा दायर गर्नु,मन्त्री परिषद्ले समितिको अध्यक्ष नियुक्ती गर्नु लगायतका कारण पनि परियोजनाका कर्मचारीहरु तलब विहिन भएका हुन । उनले अहिले परियोजनाबाट ५० प्रतिशत राजश्व मात्रै नेपाल सरकारले लिने गरेको र बाँकी ५० प्रतिशत राजश्व वा आम्दानीले परियोजना चलाउन सकिने भएपनि काठ बिक्रि नभएकाले समस्या भएको” वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले बताए ।
उनले मन्त्री परिषद््ले चाँडै समितिको अध्यक्ष नियुक्त गर्ने र परियोजनाका सबै समस्या समाधान हुने बताए ।उनले परियोजनामा कर्मचारी व्यवस्थापनभन्दा पहिला आर्थिक व्यवस्थापन महत्वपुर्ण रहेको समेत बताए ।उनले परियोजना सहज रुपमा सञ्चालन गर्न परियोजनालाई आर्थिकरुपमा मजबुत पार्नु पर्ने र अहिले सरकारसंग त्यो अवस्था नरहेको समेत बताए ।
वन पैदावार बिक्रीबाट विगतमा वार्षिक सरदर रु पाँचदेखि सात करोड राजश्व तथा रु दुईदेखि तीन करोड भ्याट समितिले बुझाउँदै आएको थियो।यस्तै,परियोजनाले प्रत्यक्षरुपमा नियमित तथा वृक्षरोपण गोडमेललगायत कार्य मार्फत एक हजारभन्दा बढीलाई वार्षिक रोजगारी प्रदान गर्दै आइरहेको थियो ।

सम्बन्धित समाचार