Close This

जिल्लामै पहिलो पटक एभोकाडोको व्यावसायिक खेती

पत्र पत्रिका    प्रकाशित: २०७७-४-२५ गते   ३६९ पटक हेरिएको

जुनार खेतीले कहलिएको सिन्धुली जिल्लामा पहिलो पटक एभोकाडोको व्याबसायिक खेती सुरु गरिएको छ । गोलन्जोर गाँउपालिका–४ तीनकन्याका किसान लालबहादुर ठाडा मगरले जिल्लामै पहिलो पटक यो बर्षदेखि एभोकाडोको व्याबसायिक खेती सुरु गर्नु भएको हो । उहाँले दुई महिनाअघि धनकुटा जिल्लाबाट ३५० बोट एभोकाडोको बिरुवा ल्याई २० रोपनी जमिनमा व्याबसायिक खेती सुरु गरेको जानकारी दिनुभयो ।

जुनार किसानका रुपमा परिचय बनाई सक्नु भएका उहाँले जुनारबाट भन्दा राम्रो आम्दानी हुने देखेर एभोकाडोको व्यावसायिक खेती सुरु गरेको बताउनुभयो । त्यसो त किसान ठाडा मगरको बगैंचामा अहिले पनि २५० बोट जुनार र दुई सय बोट सुन्तला रहेको छ ।

जुनार सुन्तलाको तुलनामा एभोकाडो खेतीबाट बढी आम्दानी हुने देखेर यो बर्षदेखि एभोकाडोको व्यवसायिक खेती सुरु गरेको उहाले सुनाउनुभयो । किसान ठाडा मगरलाई एभोकाडोको व्यवसायिक खेती गर्ने जाँगर भने त्यसै चलेको होईन । उहाँले तीन बर्षअघि घरअगाडी रक्षान् (करेसाबारी) मा एउटा एभोकाडोको बिरुवा ल्याएर रोप्नु भएको थियो ।

“त्यो बिरुवाबाट फल लागेर गएको हिउदमा ४० केजी एभोकाडो खनियाखर्क बजारमा बेचें,” किसान ठाडा मगरले थप्नुभयो, ‘होलसेलमै प्रतिकेजी दुई सय रुपैयामा बिक्री गरे । जुनारको भन्दा राम्रा आम्दानी देखेर एभोकाडोको व्यवसायिक खेती सुरु गरेको हुँ,।”

गाँउमा दुई चार बोट लगाउने अरु किसानले प्रतिकेजी चार सय रुपैयासम्ममा एभोकाडो बिक्री गरेको उहाँको भनाई थियो । आफुले गरेको एभोकाडो खेती कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले समेत हेरेर राम्रो लागेको सुझाब दिएको उहाँले बताउनुभयो ।

किसान ठाडा मगरले जुनार खेतीबाट बर्सेनि दुई लाख रुपैयाभन्दा बढी आम्दानी लिदै आउनु भएको छ । पछि एभोकाडोबाट राम्रो आम्दानी भयो भने त्यसको खेती अझ बिस्तार गर्ने सोचमा आफु रहेको उहाँले बताउनुभयो ।

काठमाण्डौका तारे होटलमा एभोकाडो फलको माग बढी हुने र आफ्नो भोलीको बजार भनेको पनि काठमाण्डौ नै भएको उहाँको भनाई छ । काठमाण्डौमा एभोकाडो प्रतिकेजी पाँच सय रुपैयासम्ममा बिक्री हुने र बढी मात्रामा बिदेशी पर्यटकले उक्त फल रुचाउने जनाईएको छ ।गोलन्जोर गाँउपालिकाकै मुर्किबेंसि, ग्वाल्टार र तीनकन्याको किराते क्षेत्रमा केही किसानले २०÷२५ बोट एभोकाडोको बिरुवा रोपेको स्थानीयले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech