इश्वरपुर १२ गुईडुङमा चट्याङ लागेर एक जनाको ज्यान गयो,चार जना घाइते

1.5k Shares

 सर्लाहीको इश्वरपुर नगरपालिका १२ स्थित चुरेभेगमा पर्ने गुईडुङमा सोमबार अपरान्ह चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भने चार जना घाइते भएका छन् ।
सोमबार अपरान्ह करिब ४ बजे पानीसँगै परेको चट्याङ लागेर गुईडुङका अन्दाजी २८ वर्षीय प्रेमबहादुर घलानको ज्यान गएको हो । भने २ वर्षिय बालिका सहित चार जना घाइते भएका इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक रोशन थापाले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार साँझ बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । 
घलानलाई ज्वाइँ वुद्धबहादुरको घरमा पारिवारिक छलफल चलि रहेको समयमा चट्याङ लागेको स्थानीयले बताएका छन् । चट्याङ लागेर मृतक घलानकी श्रीमती २६ वर्षीया नन्दीमाया घलान,ज्वाइँ २७ वर्षीय वुद्धबहादुर पाख्रिन,वुद्ध बहादुरकी छोरी २ वर्षकी प्रतिमा पाख्रिन र स्थानीय २७ वर्षीय रुद्रमान स्याङतान घाइते भएका छन् । उनीहरु सबैलाई उपचारका लागि जनसेवा अस्पताल बर्दिवास पुर्याएको बिरामीका आफन्तले जनाएका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । चट्याङ लागेपछि अचेत भएकी २ वर्षकी बालिका प्रतिमाको अहिले होस खुलेको अस्पताल स्रोतले जनाएको छ । सडक नपुगेको त्यस ठाउँमा घारिबथान स्थित चुरेको फेदीबाट एक घन्टा भन्दा बढी पैदल हिँडेर डाँडा चढेपछि पुगिन्छ ।

सम्बन्धित समाचार