जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नवलपुर मोडेल अस्पतालमा छापा मारेको छ । अस्पतालको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट खटिएको टोलीले अचानक अस्पतालमा छापा मारेको हो ।
टोलीले अस्पतालको ओपीडी, अपरेशन थिएटर र फार्मेसीमा लापरवाही देखिएकाले तत्काल ती सेवा बन्द गरेर एक साताभित्र अस्पतालका आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
अनुगमनका क्रममा अप्रेसन थिएटर बन्द रहेको बताएपनि गर्भपतन गराउने औजारसहितका सरसामग्री भेटिएको, कर्मचारीहरुलाई काममा लगाएर पारिश्रमिक नदिई पटक–पटक नयाँ कर्मचारी राख्ने गरेको जस्ता हेलचेक्र्याइँ गरेको पाइएको टोलीले जनाएको छ । केही दिनअघि मात्रै औषधी व्यवस्था विभाग वीरगन्जको टोलीले हरिवन नगरपालिका ११ स्थित सरस्वती अस्पतालको फार्मेसीमा छड्के अनुगमन गरेर शिल गरेको थियो । भने लालबन्दीको सुसान्त मेडिकललाई पनि चेतावनी दिइएको औषधी व्यवस्था विभाग वीरगन्जले जनाएको छ ।
पछिल्लो समय सर्लाहीमा अस्पताहरु खुल्ने क्रम तिब्रगतीमा बढेको र त्यस्ता अस्पतालहरुमा कुनै पनि मापदण्ड नपुगेको भन्दै र अस्पतालहरुमा लापरवाही बढेको जनगुनासो बाक्लै आउन थालेको छ । बागमतीमा रहेको बागमती मोडेल अस्पतालले पनि केही साताअघि बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको थियो ।
यता जिल्लाको लालबन्दी,नवलपुर,हरिवन,वागमती,बरहथवा,इश्वरपुर र मलंगवामा खुलेका अस्पताहरुमा मापदण्ड नपुगेका पाइएको भएपनि मौन रहेको जिल्लाको सरोकारवाला निकाय उजुरी पर्खेर बसेको छ । रेडियोलोजिष्ट विना गरिने भडियो एक्सरे,दक्ष चिकित्सकको नाम बेचेर अहेव तथा हेल्थअसिष्सटेन्टहरुले चलाउने अस्पतालहरुका कारण सेवाग्राहीहरु मारमा परेका छन् ।