लालबन्दी ११ मा हात्तीको उपद्र्रो,अन्न बाली तथा तरकारी बालीमा क्षति

456 Shares

 सर्लाहीको लालबन्दी नगरपालिका ११ स्थित हीरापुरमा जङ्गली हात्ती देखा परेको छ ।लालबन्दी नगरपालिका ११ स्थित हीरापुरको बाहुनीदेवी सामुदायिक वन उपभोक्ता समुह र वन देवी सामुदायिक वन उपभोक्ता समुहमा एक्कासी हात्ती देखा परेपछि स्थानीय त्रसितभएका छन्।जङ्गली हात्तीले हीरापुरका किसानहरुले लगाएको गोलभेँडा र गोलभेँडा भरिएको क्यारेटमा समेत क्षति पुर्याएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत सागर बस्यालले जानकारी दिए ।उनका अनुसार दुई वटा जङगली हात्ती बस्ती तथा नजिकको जङ्गलमा देखा परेपछि लालबन्दी नगरपालिका ११ बासीलाई उच्च सतर्कता अपनाउन र वन क्षेत्रभित्र प्रवेश नगर्न सचेत गराइएको छ हरिपुर नगरपालिका १ को जानकीनगर क्षेत्रमा एक सातादेखि जङ्गली हात्ती देखा परेर घर भत्काउने तथा अन्नबाली नष्ट गर्ने गरिरहेको भएपनि सोही हात्ती लालबन्दीतर्फ आइपुुगेको हुनसक्ने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका १० र ११ का विभिन्न स्थानमा हात्तीको पाइला देखिएकाले स्थानीय वासिन्दालाई सतर्क रहन आग्रह गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठकले बताए । सर्लाहीको मुर्तिया,जानकीनगर,लालबन्दी,हीरापुर,सागरनाथ,गौरीशंकर(श्रीनगर)लगायतको क्षेत्रमा वर्षेनि जङ्गली हात्ती आएर धनमालमा क्षति पुर्याउने गरेको छ ।दिनभर जङ्गल तथा उखुुबारीभित्र बस्ने हात्तीले साँझ पर्न थालेपछि बस्ती तथा खेतबारीमा निस्किएर अन्नवाली तथा तरकारी बालीमा क्षति पुर्याउने गरेको स्थानीयले बताएका छन् ।
जङ्गली हात्तीको समूहलाई नियन्त्रणमा लिन सक्ने अवस्था नरहेकाले सतर्कता नै अपनाउनुपर्ने डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले बताए ।उनले केही दिन यस क्षेत्रमा रहने हात्ती पुनःफर्किएर पर्सा राष्ट्रिय निकुञ्ज तर्फ नै जाने भएकाले हात्तीलाई जथाभावी नजिस्काउन र सुरक्षित रहने उपाय अपनाउन आग्रह गरे ।
यता,जङगली हात्तीको उपद्रोका कारण वर्षेनी किसानहरु अन्नबाली तथा तरकारीबालीको क्षेतीको सामना गरि रहेकाले हात्ती नियन्त्रणको विषयमा माथि सम्म नै कुरा भएको मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले बताए।उनका अनुसार हात्ती नियन्त्रणमा लिन सक्ने अवस्था नहुँने भएकाले हात्ती आउने क्षेत्रमा विशेष घेराबेराको विकल्प नभएको बताए ।

सम्बन्धित समाचार