मधेस प्रदेशमा शृङ्खलावद्ध हत्याका घटनाहरू भइरहेका पाइएको छ।पछिल्लो चार महिनामा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा दुई दर्जन भन्दा बढी हत्याका घटना घटेका छन्।हरेक महिना कम्तीमा छ जनाको हत्या भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मधेश प्रदेशका प्रमुख एवम डिआईजी लालमणि आचार्यले बताए ।उनका अनुसार हरेक जिल्लामा हत्याका घटनाहरू छ्यापछ्याप्ती भइरहेको देखिन्छ।तैपनि प्रहरीले कुनै ठोस योजनाहरू बनाउन नसकिरहेको जानकारहरु बताउँछन् ।
प्रहरी कार्यालयको तथ्यांकका अनुसार कात्तिक १२ गते महोत्तरीको पिपरा गाउँपालिका ७ स्थित दनौलीमा स्थानीय अशोक ठाकुरको आँपको बगैँचा नजिकैको अन्दाजी २६ वर्षिय मालती मण्डलको शव फेला परेको थियो।कात्तिक १० गते बाराको महागढीमाई नगरपालिका १ मा ५० वर्षीय श्रीनारायण यादवको खुकुरी प्रहार गरी हत्या भएको, असोज २७ गते सिराहाको सुखीपुर नगरपालिकाका कृष्ण महराको हत्या भयो।महोत्तरी,सिराहा र बारामा भएका हत्याका घटना उदाहरण मात्रै हुन।पछिल्लो चार महिनामा प्रदेशमा हत्याका घटना शृङ्लाबद्ध भइरहेको प्रहरीको तथ्यांकले देखाएको छ।चालू आर्थिक वर्षको चार महिनामा मात्रै दुई दर्जन भन्दा बढी हत्याका घटना भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मधेश प्रदेशले जनाएको छ ।
प्रहरीका अनुसार बितेको चार महिनामा मात्र २६ जनाको हत्या भएको छ।चालू आर्थिक वर्षको साउनदेखि कात्तिक ११ गतेसम्मको अवधिमा २६ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
मधेश प्रदेशका आठ जिल्लामा दुई नाबालकसहित २६ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ ।सबैभन्दा बढी सर्लाही जिल्लामा हत्याका घटना भएका छन्।यो जिल्लामा कुल घटनामध्ये छ जनाको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
त्यसपछि सिराहा,रौतहटमा क्रमशः चार÷चार जनाको हत्या गरिएको विवरण छ।यसै गरी सप्तरीमा एक जना बालकसहित दुई जनाको हत्या भएको,बारामा एक बालिकासहित चार जनाको हत्याका घटना भएका छन्।त्यसपछि महोत्तरी तीन जना,धनुषामा दुई जना र पर्सामा एक जनाको हत्या भएको प्रहरीको तथ्यांकले जनाएको छ ।मधेश प्रदेशका आठै जिल्लामा कूल २६ जनाको हत्या भएको छ ।
गएको चार महिनाको अवधिमा हत्या भएकाहरूमध्ये अधिकांश पुरुष रहेको प्रहरी तथ्यांकमा उल्लेख छ।प्रदेशभरमा चार महिनामा १६ जना पुरुषको हत्या भएको छ।त्यसपछि दोस्रो नम्बरमा महिलाको हत्या भएको तथ्यांकमा उल्लेख छ।चार महिनामा सात जना महिलाको हत्या भएको छ साथै दुई जना नाबालकको समेत हत्या गरिएको प्रहरीको विवरणले देखाएको छ ।
प्रदेशका आठै जिल्लामा हत्याका २७ वटा मुद्दा दर्ता भएका छन्।आठै जिल्लामा हत्या सम्बन्धी २७ वटा मुद्दा दर्ता भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।प्रहरी कार्यालयका अनुसार सोही समयमा प्रहरीले हत्या आरोपित ३४ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमध्ये २३ जना पुरुष र ११ जना महिलाको संख्या छ।कर्तव्य ज्यान मुद्दाका विभिन्न ३४ जना आरोपितलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
डिआईजी आचार्यका अनुसार रिसिइबी,विवाहेत्तर सम्बन्ध र सानोतिनो झगडामा आवेगमा आएर लगायतका तीनवटा कारणले हत्याका घटना घटेका पाइएको छ।प्रहरीको अकर्मण्यताले घटना नघटेको प्रदेश प्रहरी प्रमुख आचार्य बताए।“घटनाहरूको प्रहरी अनुसन्धानमा त सफलता मिलेको छ,तर सफलता मिल्नुको अर्थ वाहवाही होइन।राम्रो होइन ।घटनाले समाज कता गइरहेको छ भन्ने म्यासेज दिइरहेको छ, जुन चिन्ताजनक र डरलाग्दो छ ।”आचार्यले बताए ।यस प्रकारका घटनाहरुलाई रोकथाम गर्नका लागि राज्यस्तरबाट आम नागरिकमा जनचेतना जगाउन जरुरी रहेको डिआइजी आचार्यले बताए ।