सर्लाहीको बागमती नगरपालिका ४ र १२ स्थित पर्ने क्षेत्रीय सडक कालोपत्रे भएको छ ।विगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको क्षेत्रीय सडक कालोपत्रे भएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार बागमती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गस्थित पुतली चोकदेखि दक्षिणतर्फ बागमती नगरपालिका ४ र १२ स्थित पर्ने क्षेत्रीय सडक कालोपत्रे गरेको हो । सो सडक अन्तर्गत रेल्वे पुुलदेखि सुकुुम्वासी बस्ती रहेको क्षेत्र र जिरायत बजार आसपासमा सडक जिर्ण थियो ।
बागमती नगरपालिका ४,११ र १२ स्थित पर्ने क्षेत्रीय सडक कालोपत्रे गर्न रु १८ करोड विनियोजन गरिएको र सोही बजेटबाट क्षेत्रीय सडक कालोपत्रे गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।उनका अनुसार बेश र सवबेशको काम उपभोक्ता समितिमार्फत तथा कालोपत्रेको काम ठेकेदारबाट गराइएको हो ।
पातलो कालोपत्रे (ओटासिल) गरि अहिले सडक फराकिलो पारेर पहिलेको तुलनामा उच्चस्तरीय (अस्पाल्ट) प्रविधिबाट कालोपत्रे गरिएको नगरपालिकाका सव–इन्जिनियर सुजन बडालले बताए ।नगरपालिकाले विनियोजन गरेको रु १८ करोड बजेटबाट पुतली चोकदेखि उत्तरतर्फको भित्री सडक र रेल्वे पुलदेखि बागमती माछापोखरीसम्म पुुग्ने सडक समेत कालोपत्रे हुने बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्णकुमार लामाले बताए ।