सर्लाहीका विभिन्न स्थानमा सञ्चालित दुई दर्जन भन्दा बढी क्रसर उद्योगहरु अनिश्चितकालिन बन्द गरिएको छ।सर्लाहीको इश्वरपुर,हरिपुर,बागमती र बरहथवा नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित १४ वटा क्रसर उद्योगहरु बन्द गरिएको जिल्लास्तरिय अनुगमन उप समिति सर्लाहीका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जीतेन्द्र कुमार महत्तोले जानकारी दिए।उनका अनुसार सर्लाहीका विभिन्न स्थानहरुमा दर्ता भएका २१ वटा क्रसर उद्योगहरु मध्य हाल सञ्चालनमा रहेका १४ वटा क्रसर उद्योगहरु प्रचलित कानुनी तथा मापदण्ड अनुसार सञ्चालनमा नआएका व्यापक गुनासो आएपछि स्थलगत अनुगमन गरि मापदण्ड विपरित रहेको पाइएकोले अनिश्चितकालिन बन्द गरिएको हो ।
जिल्लाको लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा सञ्चालित प्रिन्स क्रसर उद्योग,इश्वरपुर नगरपालिका ५ फुलजोरमा सञ्चालित शुभम एग्रिगेट इण्डष्ट्रिज,इश्वरपुर नगरपालिका ५ सखुवनीमा सञ्चालित फुलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग प्रा.लि,हरिपुर नगरपालिका ४ मा सञ्चालित राजदेवीमाई बालुवा गिट्टी,ढुंङ्गा प्रा.लि,हरिपुर नगरपालिका ८ मा सञ्चालित सिद्धि विनाय एग्रिगेट इण्डष्ट्रिज, बरहथवा नगरपालिका १ मा सञ्चालित सर्लाही बालुवा प्रशोधन एण्ड क्रसर उद्योग प्रा.लि,बरहथवा नगरपालिका १ मा सञ्चालित गौतम गिट्टी बालुवा प्रशोधन उद्योग प्रा.लि,बरहथवा नगरपालिका ८ मा सञ्चालित बरहथवा गिट्टी बालुवा प्रशोधन तथा सप्लायर्स प्रा.लि,बरहथवा नगरपालिका ८ मा सञ्चालित राहुल गिट्टी बालुवा वासिङ्ग सेन्टर प्रा.लि,बरहथवा नगरपालिका १ मा सञ्चालित हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनी प्रा.लि,बसबरिया गाउँपालिका ३ मा सञ्चालित अभिनित वासिङ्ग उद्योग÷अभिनित ढुंङ्गा क्रसर उद्योग,बागमती नगरपालिका १२ मा सञ्चालित बालुवा वास प्लान्ट प्रा.लि,बागमती नगरपालिका ७ मा सञ्चालित जय मां दुर्गा क्रसर इण्डष्ट्रिज प्रा.लि र बागमती नगरपालिका १२ मा सञ्चालित एलिट कंक्रिट उद्योग प्रा.लिको स्थलगत अनुगमन गर्दा राज्यले तोकेका न्युनतम मापदण्ड तथा प्रचलित नीयम कानुन पालना नगरेको पाइए पछि “ढुंगा,गिट्टी, बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धि मापदण्ड (पहिलो संशोधन सहित) २०७९”ले तोके बमोजिमको मापदण्ड र प्रचलित नीयम कानून पुरा नगर्दा सम्मका लागि पत्र बुझाएर बन्द गरिएको उनले बताए।
“ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धि मापदण्ड(पहिलो संशोधन सहित) २०७९”को दफा ११(१) र दफा ११(४) ले तोकेको मापदण्ड÷व्यवस्थाको उल्लंघन गरेको पाइएकाले तोकिएको मापदण्ड पूरा गरेर जिल्लास्तरिय अनुगमन समितिलाई जानकारी गराई समितिबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न र निर्देशनको अवज्ञा गरेको पाइएमा विद्युत लाईन काट्नुका साथै क्रसर उद्योगहरुको सामान समेत जफत गर्ने क्रसर उद्योगहरुलाई बन्द गरि समितिले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
मापदण्डमा के छ ?
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ।सो मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट पाँच सय मिटर,खोला वा नदी किनारवाट पाँच सय मिटर,शिक्षण संस्था,स्वास्थ संस्था,धार्मिक, सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई मिलोमिटर,पक्की पुलबाट पाँच सय मिटर,अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमिटर,वन,निकुञ्ज तथा आरक्षबाट दुई मिलोमिटर,घना बस्तीबाट दुई किलोमिटर,हाइटेन्सन लाइनवाट दुई सय मिटर,ऐतिहासिक ताल,तलैया,जलाशय र पोखरीबाट पाँच सय मिटर,चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर दूरीको मापदण्ड कायम गरेको छ ।
सर्वोच्च अदालतले“ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८”स्वीकृत गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९/२ ०३९/१/४ को प्रस्ताव मन्त्री परिषद् बैठक स.१÷२०७९ मिति २०७९/१/१३ को मन्त्रिपरिषदको बैठकमा पेश वा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेशा गर्ने निर्णयलाई बदर गरि “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” नै कायम गरेको हो ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा रहेको अनुगमन सम्बन्धी व्यवस्था,क्रसर उद्योगको लागि निर्धारित दूरीसम्बन्धी मापदण्ड, केन्द्रीय तहमा समन्वय संयन्त्रको व्यवस्थाल गायतका अन्य सान्दर्भिक विषयहरूमा समसामयिक संशोधन गर्न वाञ्छनीय भएकोले नेपाल सरकारले सो मापदण्ड बनाएको हो ।जसमा“प्राविधिक टोली गठन सम्बन्धी व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले तोके बमोजिम हुने,“घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी”भन्ने वाक्यांश हटाइएको छ।मापदण्डको दफा ४ को उपदफा (१३ क) मा गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको संकलनका लागि नदीको धारमा परिवर्तन नहुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी उन्नत प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्ने र १३ (ख)मा आवश्यक अन्य व्यावस्था जिल्ला अनुगमन समितिले तोके बमोजिम हुनेछ।”भनिएको छ ।
“मापदण्डमा अन्यत्र जुनसकै कुरा लेखिएको भए तापनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन।बेमौसमी वर्षाका कारणले खोला वा नदीको बहाव औसत तहभन्दा बढी भएमा जिल्ला विपद् व्यवस्थापन समितिले उपदफा (१६) मा उल्लेख भएको अवधिभन्दा १५ दिन अघि वा पछिसम्मको अवधिमा उत्खनन् कार्यलाई निषेध गर्न सक्नेछ।“ढुंङ्गा,गिट्टी,बालुवा जस्ता साधारण निर्माणमूखी वस्तुहरुको उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी नीतिगत निर्देशन,समन्वय एवम सहजीकरणका लागि केन्द्रीय समन्वय तथा सहजीकरण समिति रहनेछ ।”जुन समितिमा“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय,गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरुका साथै खानी तथा भूगर्भ विभागका महानिर्देशक, सम्बन्धित प्रदेशको वातावरण हेर्ने मन्त्रालयका प्रदेश सचिव, योजना तथा विकास सहायता समन्वय महाशाखाका सह सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मीलित समिति गठन हुने “ढुंङग, गिट्टी, बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा व्यावस्था रहेको भएपनि सर्लाहीका कुनैपनि क्रसर उद्योगहरुले यस प्रकारको मापदण्ड पुरा नगरी मनोमानी तथा दादागिरी तरिकाले क्रसर उद्योगहरु चलाएका स्थानीयबाट पटक पटक गुनासो आएपछि जिल्लास्तरिय अनुगमन उप समिति ताकेको हो ।
प्रचलित मापदण्ड तथा नीयम अनुसार जिल्लाका कुनैपनि खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन्,निकासी तथा पैठारी गर्न पाईने छैन्।चुरे संरक्षित क्षेत्र अन्र्तगत रहेका ३६ वटा जिल्लाहरुमा सर्लाही समेत पर्ने गरेको भएपनि मापदण्डलाई लत्याउँदै क्रसर माफियाहरु र पर्यावरण विरोधीहरुले आफुखुसी सरोकारवाला निकायलाई आर्थिक प्रभावका साथै राजनैतिक दवावमा पारेर आफ्नो धन्दा चलाई रहेका थिए ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को घ(६)को व्यावस्था,मधेश प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ७“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड २०७९”मा तोकिएको मापदण्डको धज्जी उडाउँदै पुर्व मन्त्री तथा सांसदहरुका साथै विभिन्न पार्टीका नेताहरु र स्थानीयस्तरका जनप्रतिनिधिहरुले खुलेआम प्रकृतिको दोहन गरि रहेका भएपनि यस पटक समितिले चासो देखाएपछि उनीहरुको निदहराम सुरु भएको छ ।
“यस अघि पटक पटक भएका अनुगमनहरुले समितिलाई कमिसन उठाउने अवसर सृजना गरेको र यस पटकको अनुगमन पनि त्यसै प्रकारको नहोस भन्ने हाम्रो चाहना छ।”स्थानीय जानकारहरु बताउँछन्।तर समितिले यस पटक उद्योगका सञ्चालक तथा प्रतिनिधिहरुलाई पत्र बुझाई उद्योग परिसरमा संकलन गरि राखिएको तयारी कच्चा पदार्थ तथा संकलित पदार्थ कुनैपनि नउठाउँन समेत निर्देशन दिएको छ ।
जिल्लास्तरिय अनुुगमन उपसमितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख महतोको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरु सहितको टोलीले क्रसर उद्योगहरुको स्थलगत निरीक्षण गरेर“ढुंगा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्वन्धि मापदण्ड २०७७”विपरित सञ्चालित क्रसर उद्योगहरुलाई पुर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
इश्वरपुर नगरपालिका ५ फुलजोरमा पुर्व मन्त्री,पुर्व सांसद एवम नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले सञ्चालन गरेको शुभम् एग्रिगेट र बसबरिया गाउँपालिका ३ मा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले सञ्चालन गरेको अभिनिय क्रसर उद्योगका कारण अरु क्रसर उद्योगहरुले समेत छुट पाउँदै आएका थिए । उनीहरुले राजनीतिक शक्ति प्रयोग गरेर राज्यले तोकेका मापदण्ड समेत पुरा नगरी क्रसर सञ्चालन गरी रहँदा अरुलाई पनि समितिले कडाईका साथ अनुगमन गर्न सकिरहेको थिएन् भने यस पटक उनीहरु कै क्रसर बन्द गरेर अनुगमनलाई प्रभावकारी बनाउने प्रयासमा समिति लागेको छ ।