सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको मनोकामना बहुउद्देश्य सहकारी संस्था लि.ले २५ औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती मनाएको छ।संस्थाका अध्यक्ष एवम निवर्तमान मन्त्री शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा हरिवन नगरपालिकाकी नगर उप प्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका १,भेक्टेनीमा संस्थाले सञ्चालन गरेको मनोकाना आवासीय विद्यालयको प्राङ्गणमा संस्थाको २५ औँ वार्षिक साधारण सभा र रजत जयन्ती मनाइएको संस्थाका निमित्त प्रबन्धक सविन हरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा ४८ करोड ४५ लाख ८२ हजार तीन सय ८६ रुपैयाँ १७ पैसा कुल कारोबार गरी ८१ लाख ३४ हजार नौ सय ८० रुपैयाँ दुई पैसा मुनाफा आर्जन गरेको छ।कर्जा नोक्सानी व्यवस्थापनको लागि रु ४० लाख २५ हजार रकम छुट्याएकोले संस्थाको नाफा कम भएको निमित्त प्रवन्धक अधिकारीले बताए ।
हरिवनमा मुख्य कार्यलय रहेको संस्थाले लालबन्दी,नयाँरोड,मिलनचोक र बागमतीमा सेवा कार्यलय सञ्चालन गरिरहेको संस्थाले २५ औँ वार्षिक उत्सव एवम रजत जयन्तीको अवसरमा संस्थापक ७० जना शेयर सदस्यहरूलाई प्रशंसा पत्र सहित उत्कृष्ट बाल बचत तर्फ खुशी कार्कीलाई प्रथम,मात्रिका सिंहलाई द्वितीय र प्रशंसा श्रेष्ठलाई तृतीय पुरस्कार प्रदान गरेको छ भने,उत्कृष्ट बचत कारोबार तर्फ दुर्गा बहादुर कार्की र उत्कृष्ट ऋण कारोबार तर्फ जयराम फुँयाललाई सम्मान सहित पुरस्कृत गरेको संस्थाले जनाएको छ।त्यसै,संस्थाको आन्तरिक कर्मचारी तर्फ उत्कृष्ट बजार प्रतिनिधिमा पुनम कुमारी कार्की,उत्कृष्ट सेवा केन्द्र प्रमुखमा रोमा खत्री र उत्कृष्ट ऋण सहायकमा मिथलेश कुशवाहालाई पुरस्कृत गरेको छ ।