सर्लाहीको हरिवन नगरपालिकाले करारमा एमबीबीएस डाक्टर नियुक्त गरेको छ । नगरपालिका ४ सासापुर स्वास्थ्य चौकीबाट २४ सैँ घण्टा सेवा प्रवाह गर्ने उद्देश्यले प्रतिस्पर्धाबाट स्वास्थ्यकर्मीहरु नियुक्त गरेको हो ।
नगर प्रमुख गणेश प्रसाद प्रसाईले नागरिक मैत्री स्वास्थ्य सेवा प्रदान गर्ने अभियान अन्तर्गत करारमा एमबीबीएस डाक्टर नियुक्त गरेर सेवा प्रवाह गर्न सुरु गरिएको बताउनु भएको छ । स्वास्थ्य चौकीमै एमबीबीएस डाक्टरको व्यवस्था गरेपछि हातमुख नै जोर्न गाह्रो पर्ने गरिब तथा विपन्न नागरिक अब सामान्य रोगको औषाधोपचार गर्न चर्को शुल्क तिरेर प्राईभेट अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने नगर प्रमुख प्रसाईले दावी गर्नु भयो ।
७० वर्ष माथिका वृद्धबृद्धालाई निःशुल्क औषधि उपचार गर्ने, नागरिकको स्वास्थ्य बीमा गर्ने, सासापुर स्वास्थ्य चौकीबाट रेबिजको निःशुल्क उपचार गर्ने जस्ता सेवा प्रवाह गर्न लागिएको नगरपालिकाले जनाएको छ ।