सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योती बहुमुखी क्याम्पसको प्रमुख नियुक्तीका लागि आवेदन माग गरिएकोमा दुई जनाको आवेदन परेको छ ।क्याम्पस प्रमुख उमेश तिमल्सीनाको कार्यकाल पुस १९ गते सकिने भएपनि त्यस अघि नै आवेदन माग गरिएकोमा सो अवधिमा एकजनाको मात्रै आवेदन परेपछि समितिमा समितिमा विवाद सृजना भएको थियो।त्यसपछि पुन आवेदन अवधि थप गरिएकोमा दुई जनाको आवेदन परेको क्याम्पस प्रशासनले जनाएको छ ।
पुस २१ गतेको समयको अवधिमा निवर्तमान क्याम्पस प्रमुख तिमल्सीना र क्याम्पसका लेखा प्रमुख विरेन्द्र चौधरीको गरी दुई जनाको आवेदन परेको हो।तीन वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त भएका तिमल्सेनाको पुस १९ गते अवधि सकिएको र अब नयाँ विधान अनुसार चार वर्षे कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त हुने क्याम्पस प्रशासनले जनाएको छ।तर क्याम्पस प्रमुखको कार्यकाल चार वर्षे गर्ने विधान निर्माण भएको भएपनि साधारण सभाबाट पास हुन बाँकी रहेको छ ।क्याम्पसलाई राजनीतक थलो बनाएका लालबन्दीका विभिन्न राजनीतिक दलहरुको आ आफ्नै किसिमका अडान तथा मागका कारण समितिमा विवाद भएपछि अन्य प्रतिस्पर्धीहरुले सो प्रक्रियामा सहभागीता नजाएका पाइएका कारण दुई जनाको मात्रै आवेदन परेको पाइएको हो ।
क्याम्पसमा सात जना स्थायी र क्याम्पस प्रमुखका लागि योग्य प्रतिस्पर्धीहरु रहेका भएपनि विवादका कारण उनीहरुले आवेदन नदिएका बुझिएको छ ।पहिला बनेको तीन वर्षे कार्यकाल विधान अनुसार क्याम्पस प्रमुख तिमल्सीनाको कार्यअवधि यहि पुस १९ गते सकिएपछि अहिले निमित्त क्याम्पस प्रमुखको रुपमा सहायक क्याम्पस प्रमुख धर्मेन्द्र अधिकारीले काम काज सम्हालेका छन् ।
राजनीतिक हिसाबले नभई प्रपोजलका आधारमा समितिले बनाएको मापदण्ड अनुसार क्याम्पस प्रमुख छनोट गरिने समितिका अध्यक्ष दिपक अधिकारीले बताए।उनका अनुसार पुस २१ गते सम्म आवेदन(प्रपोजल)पेश गर्न सूचना जारी गरिएकोमा जम्मा दुई जनाको मात्रै आवेदन(प्रपोजल)परेको र अब केही दिनमा समितिले विज्ञहरुको सल्लाह अनुसार प्रक्रिया अगाडि बढाउने छ ।