सर्लाहीमा शनिवार ४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन ।
बागमती नगरपालिकामा ३ जना र चन्द्रनगर गाउँपालिकामा १ जना गरी ४ जना नयाँ कोरोना संक्रमित थपिएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सर्लाहीमा ४ जनामा कोरोना संक्रमण पुष्टि गरेको प्रजिअ जिसीले बताउनु भयो । यो सँगै सर्लाहीमा कोरोना संक्रमित बिरामीको संख्या ६ सय १९ पुगेको छ ।
पछिल्लो समय सर्लाहीमा कोरोना संक्रमित भन्दा कोरोना जितेर घर फर्कनेको संख्या बढिरहेको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।