सर्लाहीमा अनियमित विद्युत कटौतीका कारण जिल्लाका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती लगायत विद्युतको भोल्टेजमा अनियमितता हुँदा बिद्युती मेसिनरी साधनहरुका साथै विद्युतीय काम नराम्ररी प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने र भोल्टेजमा अनियमितता हुनेजस्ता समस्या सर्लाहीमा पटक पटक देखा परेको छ ।
अनियमित विद्युत् कटौतीले प्रेस, कुटानी पिसानी मिल, खाद्य उद्योग,मिडिया हाउसहरु सहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुको गुनासो छ ।
विद्युत अनियमित हुँदा उत्पादन लागत बढेको उद्योगीहरुको गुनासो छ । विद्युतले त हैरान नै पारेको छ, मेसिन चलिरहेका बेला बारम्बार बत्ती कटौती हुन्छ,’मलंगवाको एक प्लाइ उद्योगका सञ्चालक गजेन्द्र साहले बताए । ‘विद्युत् अनियमित हुदा बढी समयसम्म कामदार खटाउनु परेको छ । आम्दानीभन्दा खर्च बढी भइरहेको छ। मेसिन पनि स्थिर रुपमा चल्न पाइरहेको छैन्।’
जिल्लाको लालबन्दी,हरिवन,बरहथवा,मलंगवालगायत प्रमुख व्यापारिक केन्द्रहरुमा रहेका उद्योगधन्दा अनियमित विद्युत कटौतीको मारमा परेका छन्। लालबन्दीका स्थानिय युवाहरु र उद्योग वाणिज्य संघ लालबन्दीले अनियमित विद्युत कटौतीले उद्योगी व्यापारी मारमा परेको भन्दै केही दिनअघि नेपाल विद्युत् प्राधिकरण लालबन्दीमा ज्ञापनपत्र समेत बुझाउँदै ध्यानाकर्षण गराएको थियो।
संघका अध्यक्ष कल्याण कुमार जोशीले बिजुलीको समस्याले लालबन्दी बजारका धरै उद्योग घण्टौं ठप्प हुने समस्या बढेको बताउनु भयो ।‘बारम्बार विद्युत् अवरुद्ध हुने र भोल्टेज नआउने समस्याले बिजुलीबाट हुने धेरै काम ठप्प हुँदै आएका छन्,’ अध्यक्ष जोशीले बताउनुभयो । ‘हामीले ज्ञापनपत्र बुझाएपछि पनि बिजुलीको समस्या समाधान भएको छैन।’कार्यालयले चाँडै नै समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको थियो । कार्यन्वय भएन अध्यक्ष जोशीले बताउनु भयो ।
यता, नवलपुरमा निर्माणाधीन ग्रिड सबस्टेशनको निर्माण पूरा भई सञ्चालन नहुन्जेल सर्लाहीको विद्युतमा यस्तै समस्या आउने विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधिर कुमार रायले बताउनु भयो । उहाँले विद्युतका पुराना संरचनाले बढ्दो लोड थेग्न नसक्ने र पटक–पटक बत्ती जाने समस्या आइरहेको बताउनु भयो । इन्जिनियर रायले अहिले गर्मीयाममा लोड धेरै हुने भएकाले बिजुली अनियमित भएको बताउनु भयो । पुरानो संरसचना अनुसार सर्लाहीमा विद्युत आपुर्ति भई रहेको र अहिले त्यो पुरानो संरचना अनुसार जिल्लामा लोड नपुग्ने उहाँको भनाई छ । सर्लाहीमा अहिले रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको १३२÷३३ केभी प्रशारणलाइन लालबन्दी, बरहथवा र मलंगवामा रहेको वितरण केन्द्रमार्फत वितरण हुँदै आइरहेको छ ।