सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीहरुले तह बृद्धि र स्तरबृद्धिको माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका छन् ।कविलासी नगरपालिकामा कार्यरत कर्मचारीले पालिकाले स्तर र तह बृद्धिको काम ढिलो गरेको भन्दै नगरपालिकाको मूल ढोकामा धर्ना दिई तालाबन्दीमा उत्रिएका हुन् ।
पुष महिनामै स्तर र तह बृद्धि गर्नुपर्नेमा अहिलेसम्म पालिकाले आनाकानी गरेको भन्दै आफूहरूले तालाबन्दी गरेको कर्मचारीहरुले बताएका छन् ।पालिकाले स्तर र तहबृद्धिका लागि सूचना प्रकाशित गरेको भएपनि सूचना बमोजिम आफूहरूले सम्पूर्ण कागजात पूरा गरी आवेदन समेत दिएको र अहिलेसम्म पालिकाले कुनै सुनुवाई नगरेको कविलासी नगरपालिकाका प्राविधिक सहायक राम वचन रायले बताए ।
पालिकाले स्तरबृद्धिको नाममा आलटाल गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको प्राविधिक सहायक रायले बताए।संविधान प्रदत्त हक अधिकारहरुलाई समेत ख्याल नगरी कर्मचारीहरुको बृद्धि विकासमा पालिकाले बाधा पु¥याउने काम गरेको उनको आरोप छ।पालिकाले स्तरबृद्धि नगरेपछि जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा ज्ञापन पत्र बुुझाइएको र माग पूरा नभएसम्म तालाबन्दी अनिश्चितकाल सम्म जारी राखी आफूहरू धर्नामा बस्ने कर्मचारीहरुले बताए ।
यता,नगरपालिकाका कर्मचारीहरुको समस्या समाधानका लागि आफूले पहल सुरु गरेको नगर प्रमुख ब्रहम्देव रायले बताए ।उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत अहिले काम विशेषले बाहिर रहेका र आउने बित्तिकै समस्या समाधानका लागि पहल गरिने छ।राजनीतिक उक्साहटमा आएर पालिकाका कर्मचारीहरुले तालाबन्दी गरेका नगर प्रमुख रायको आरोप छ ।कविलासी नगरपालिकामा समय समयमा यस प्रकारका गतिविधिहरु भई रहने गरेका पाइएको छ ।