श्रमजीवी पत्रकारको पक्षमा निरन्तर खबरदारी र आन्दोलन गर्दै आएको श्रमजिवी पत्रकार संघ नेपालले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।पछिल्लो समय सरकार मिडिया प्रति झन् झन अनुदार बन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै आएपछि आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनका अनुसार सरकारले भर्खरै संसदमा दर्ता गरेको सामाजिक संजाल नियमन सम्बन्धी अध्यादेश विरुद्ध संघले आन्दालनको कार्यक्रम घोषणा गरेको हो।प्रेस काउन्सिल नेपालबाट भएको प्रतिशोधपूर्ण व्यवहार,छ वर्षदेखि श्रमजीवी पत्रकारको पारिश्रमिक बृद्धि नगरेको र स्वरोजगार स्वतन्त्र मिडियाको संरक्षण नगरेको लगायतका विषय उठाएर संघ आन्दोलित हुन बाध्य भएको अध्यक्ष जैसीले बताए ।
नागरिकलाई भय र प्रेसलाई कमजोर बनाउने उक्त विधेयक सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले मात्र नभई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको मौलिक हकलाई बन्देज गर्ने उद्देश्यले ल्याइएकाले ऐनको रूप ग्रहण गरेमा नागरिकको संवैधानिक हक कुण्ठित हुने अध्यक्ष जैसीको भनाई छ ।
घोषित आन्दोलनका कार्यक्रम अनुसार फागुन २ गते शुक्रवार सभामुख र विषयगत समितिलाई ध्यानाकर्षण पत्र बुझाउने,फागुन ५ गते सोमबार प्रतिनिधि सभाका सबै सदस्यहरुलाई मोवाइलमा सन्देश पठाउने,फागुन ८ गते विहिबार सञ्चारग्राममा भएको सबै सञ्चार संस्था घेराऊ गर्ने र फागुन ११ गते आइतबार सिंहदरबारको दक्षिण ढोका नजिकै हनुमानस्थान मन्दिरमा प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रमहरु विज्ञप्ती मार्फत सार्वजनिक गरिएको छ ।
देशभरका २५ वटा जिल्लामा आफ्नो शाखा विस्तार गरि सकेको संघले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय,कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय,सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,प्रेस काउन्सिल,नेपाल,प्रेस रजिष्ट्रारको कार्यालय,न्युनतम पारिश्रमिक निर्धारण समिति र सञ्चारसम्बद्ध संघ÷संस्था र सरोकारवाला निकायहरुलाई बोधार्थ लेखि जारी गरिएको विज्ञप्तीमा देशव्यापी रुपमा संगठन विस्तार गर्दै आन्दोलनहरु गर्ने चेतावनी दिएको छ ।