महोत्तरीको रातु नदी उत्खनन्का लागि बर्दिवास नगरपालिकाले करिब रु साँढे आठ करोडमा ठेक्का लगाएको छ।बर्दिवास नगरपालिकाले किसाननगर खण्ड,जुरे खण्ड,फूलवारी खण्ड र पथलैया खण्ड गरी चार खण्डमा रातु नदी उत्खन्न्का लागि रु आठ करोड ४१ लाख तीन हजार एक सय ४१ मा विभिन्न चारवटा कम्पनीलाई ठेक्का दिएको हो ।
२०८१ कातिक १४ गते सूचना जारी गरि आव्हान गरिएको बोलपत्रमा नेरीसा कन्स्ट्रक्सन कम्पनी कमाठमाण्डौँ ६ले किसाननगर खण्डमा ८० हजार एक सय ५० दशमलव ९९ घनमिटरको रु दुई करोड २७ लाख,जे.एन.सप्लायर्स क्षिरेश्वरनाथ नगरपालिका ५ धनुषाले जुरेटोल खण्डमा ८० हजार एक सय १५ दशमलव ४५ घनमिटरको रु दुई करोड ४१ लाख ४१ हजार एक सय ४१मा,विक्रान्त कन्स्ट्रक्सन बर्दिवास नगरपालिका ७ महोत्तरीले फूलवारी खण्डमा ६७ हजार दुई सय ८८ दशमलव ६७ घनमिटरको रु दुई करोड छ लाख ११ हजारमा र संजिव कन्स्ट्रक्सन बर्दिवास नगरपालिका ९ महोत्तरीले पथलैया खण्डमा ६७ हजार एक सय २६ दशमलव ४६ घनमिटरको रु एक करोड ६६ लाख ५१ हजारमा २०८१ पुस ३ गते ठेक्का सकार गरेका बर्दिवास नगरपालिकाले खोला ठेक्का लगाएको हो ।
अघिल्लो आर्थिक वर्षमा ठेक्काको नाममा अवैधानिक दोहन भएको भन्दै सर्वाेच्च अदालतमा दायर भएको मुद्धा विचाराधिन अवस्थामा रहेको भएपनि बर्दिवास नगरपालिकाले रातू नदीमा यस वर्षपनि नदीजन्य पदार्थको उत्खनन्का लागि ठेक्का लगाएको हो ।वैधानिक ढंगले मापदण्ड विपरित उत्खनन् गर्ने गरिएको आलोचना भई रहेको र सोही विषयमा मुद्धा अदालतमा विचाराधिन अवस्थामा रहेको भएपनि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रल्हाद कुमार क्षेत्री तथा बर्दिवास नगरपालिका ९ का वडा अध्यक्ष घुरन महतो समेतको मिलेमतोमा ठेक्केदारहरुलाई ठूलो रकममा नदी उत्खनन् गर्न दिइएको स्थानीयको आरोप छ ।स्थानीयका अनुसार स्थानीय निर्माण व्यावसायी समेत रहेका बर्दिवास नगरपालिकाका नगर प्रमुख क्षेत्री तथा बर्दिवास नगरपालिका ९ का वडा अध्यक्ष महतोले आफ्नो फर्मबाट नभएपनि अरुको फर्म राखेर समेत उत्खनन् गरेका हुन ।
बर्दिबास नगरपालिकाको आन्तरिक आय संकलन ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी कार्यविधि २०७५ को दफा (४) को उपदफा(२) र (३) को प्रयोजनार्थ भन्दै चारवटा कम्पनी खडा गरी ठेक्का लगाईएको भएपनि त्यसको उत्खनन् अवैध रुपमा हुन थालेको पाइएको हो ।एकातिर अवैध दोहनका कारण बर्दिवास नगरपालिका १,६,७,८,९,१२ र १३ को उर्वर भुमि कटान भएको र समस्या सिर्जना भईरहेको समयमा अर्कोतिर शक्ति र पहुँचको आधारमा कानुन हातमा लिने काम हुँदै आएको स्थानीयको भनाई छ।
“ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”को पालना नगरी,नदीजन्य पदार्थ उत्खनन् स्थलमा सूचना बोर्ड नराखि,उत्खनन् स्थलको सिमांकन नगरि,मापदण्ड विपरित ठूला सवारी साधनहरु सञ्चालन गरि,दुरी सम्बन्धी मापदण्ड पालना नगरी,स्टोक गरिएको ठाउँबाट अन्यन्त्र निकासी पैठारी गरीएको,स्थानीय तहलाई तिर्नुपर्ने कर नतिरेको साथै स्टोक स्थलको अनुमती नलिएको,विना नम्बर प्लेटका सवारी साधनहरु प्रयोग गरेको,अनलाईन भ्याट विल नकाटेको साथै वन क्षेत्रमा स्टोक गरिएको साथै आईईईमा एउटा नदीबाट एक वर्षमा ७५ हजार घनमिटर भन्दा बढी नदीजन्य पदार्थको उत्खनन् गर्न नमिल्ने भएपनि बर्दिवास नगरपालिकाले कमिसनको प्रलोभनमा परेर किसाननगर र जुरेटोल क्षेत्रबाट ८० हजार भन्दा बढी घनमिटर नदीजन्य पदार्थको उत्खनन् गर्न ठेक्का लगाएको छ ।
सर्वाेच्च अदालतले २०८१ माघ ७ गते नेपाल सरकारको नाममा कानुन विपरीत खोला तथा नदीबाट भइरहेको रोडा,ढुङ्गा,गिट्टी,बालुवा जस्ता नदीजन्य पदार्थको अवैध उत्खनन् तत्काल बन्द गर्न साथै उत्खनन् गर्ने कार्यलाई नियमित र पर्यावरणीय प्रभावलाई ध्यानमा राखेर गर्न भन्दै परमादेश जारी गरेको भएपनि ठेकेदारहरुले राजनीतिक दल तथा जनप्रतिनिधिहरुको आडमा राज्यले तोकेको मापदण्डलाई लत्याएर खुलेआम रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारी गरि रहेका भएपनि सरोकारवाला र नियमनकारी निकाय बर्दिवास नगरपालिका,डिभिजन वन कार्यालय जलेश्वर,महोत्तरी,जिल्ला प्रशासन कार्यालय जलेश्वर,महोत्तरी र जिल्ला समन्वय समिति जलेश्वर महोत्तरी मौन देखिएका छन् ।
आईईई गरेको ठाउँमा एक दशमलव पाँच (१ दशमलव ५) मिटर अर्थात पाँच फिट गहिराइ सम्म उत्खन्न् गर्न पाउने कानूनी व्यवस्था भएपनि करिब १५ फीट गहिरो सम्म उत्खनन् भएको भएपनि आफ्ना गलत हर्कतको प्रमाण लुकाउन ठेकेदार कम्पनीले उत्खनन् गरिएका ठूला खाडल पर्ने गरेका समेत पाइएको छ ।जसका कारण अवैध र मापदण्ड विपरित उत्खनन् मात्रै नभई सरकारी राजश्वमा हानी नोक्सानी पुगेको जानकारहरु बताउँछन् ।
सम्झौतामा उल्लेख भए अनुसार सूर्योदय अघि र सूर्योदय पछि उत्खनन् गर्न पाइदैन तर ठेकेदार कम्पनीले रातको समयमा पनि उत्खनन् गरेको साथै नगरपालिका र ठेकेदार कम्पनी बीचको सम्झौता विपरित चार गुणा बढी गहिरो पारेर नदीजन्य पदार्थ उत्खनन् गरिएको भएपनि सरोकारवाला निकाय मौन बस्दा अवैध तरिकाबाट मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन्मा स्थानीय जनप्रतिनिधिहरु,प्रहरी प्रशासन र सरोकारवालाहरुको समेत संग्लग्नता रहेको स्थानीयले आशंका छ ।
जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा संकलन भए पश्चात बाहिर निर्यात हुने गरेको समेत पाईको छ ।खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढंङ्ले उत्खनन् हुँदासमेत सरोकारवाला निकायले नदीजन्य पदार्थको उत्खनन् स्थलको स्थलगत अवलोकन नगरेका कारण अवैध नदी दोहनले तीव्रता पाएको स्थानीयको आरोप छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खनन्को जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता दिँई तथा कमिसनको प्रलोभनमा परेर ठेकेदारहरुलाई मनलाग्दी गर्न दिँदा उनीहरुको मनोबल बढ्दै गएको छ ।
ठेकेदारले कति उत्खनन्,भण्डारण र बिक्रि वितरण गरे भन्ने सरोकारवाला कुनै पनि निकायसंग विवरण समेत छैन्।जिल्लाका नदीहरुमा राष्ट्रिय गौरबको आयोजनाको नाममा अवैध उत्खनन् तिब्र रुपमा भई रहेको छ।मापदण्डले उत्खनन् गरिएको नदीजन्य पदार्थको घाटगद्दी गर्नुपर्ने,सुचना बोर्ड राख्नुपर्ने दायाबायाँ एक किलोमिटर छाडनुपर्ने, उत्खननस्थल देखि गन्तव्य स्थलसम्म पानी चुहिन नहुने जस्ता व्यवस्थाहरु छन्।साथै उत्खनन् गर्दा तीन फिट भन्दा बढी खन्न नपाइने र आईई रिपोर्टलाई ध्यानमा राख्नुपर्ने जस्ता प्रावधानहरु उल्लेख गरिएको भएपनि आईईई देखाउने दाँत मात्रै भएको छ ।पछिल्लो समय जलवायु परिवर्तनको असर र किसानहरुको नियमित वालीनालीमा नै समस्या आईरहेको वेला नदीजन्य पदार्थ उत्खनन् नै गलत हुने कतिपयको जानकारहरुको तर्क छ।