नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले मधेश प्रदेशका श्रम तथा यतायात मन्त्री कौशल किशोर रायसँग स्पष्टीकरण मागेको छ।कांग्रेसलाई बदनाम गराउने र संगठन कमजोर पार्ने खालको पार्टीको अनुशासन र मर्यादाविपरीत क्रियाकलापमा मन्त्री राय लागेका भन्दै उजुरी आएकोले अनुशासनको कारबाही किन नगर्ने भन्दै मन्त्री रायलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले मागेको हो ।
सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति र क्षेत्र नं.२ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम मन्त्री रायले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको मर्यादा र अनुशासन ख्याल नगरी अन्य विचारधारा भएका राजनीतिकर्मी र नेताहरुका राजनीतिक कार्यक्रममा भाग लिएको समेत आरोप लागेको छ ।पार्टीको मर्यादा र अनुशासनको ख्यालै नगरी पार्टीलाई तथ्यहिन आरोप तथा गाली गलौज हुँदा समर्थन गरेको भन्दै मन्त्री रायविरुद्ध उजुरी आएपछि कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीका संयोजक डा.सरोज कुमार राय यादवले मन्त्री रायसँग स्पष्टीकरण मागे गरेको प्रेस नोट जारी गरेका छन् ।
यता,सो विषयमा सोध्दा मन्त्री रायले आफुलाई स्पष्टीकरण मागे गरेको प्रेस नोट सामाजिक सञ्जाल फेशबुकमा हेरेको र बलरा नगरपालिका स्थित रहेको एउटा विद्यालयको सेवा निवृत शिक्षकहरुको सम्मान कार्यक्रममा गएका कारण नै आफुलाई स्पष्टीकरण सोध्ने काम भएको बताए ।उनले आफु नेपाल शिक्षक संघ सर्लाहीको तीन पटक अध्यक्ष भएको नाताले विद्यालयहरुमा हुने कार्यक्रमहरुमा आफुलाई निमन्त्रणा हुने गरेको र त्यहाँ जाँदा नै स्पष्टीकरण दिनुपर्ने भए त यो कुन कस्तो अनुशासन आयोग हो ? भन्दै प्रति प्रश्न गरे ।
उनले बलराको एउटा विद्यालयको कार्यक्रममा आफुले पार्टी भित्र धेरै विकृति विसंगतीहरु रहेका,पैसा र दादागिरी सुरु भएको भएपनि आफु पार्टी छाडेर नभई पार्टी भित्रै आन्तरीक रुपमा लडेर बस्ने बताएको र त्यही विषयलाई लिएर संघीय तथा प्रदेश सभाको निर्वाचनको समयमा पार्टीका उम्मेदवारहरुलाई अन्तरघात गर्दै अन्य पार्टीका उम्मेदवारहरुलाई भोट माग्दै हिडेका मानिसले आफुलाई अनुशासन पालक भएको दाबी गर्दै सोधिने स्पष्टीकरणले कुनै अर्थ नराख्ने समेत बताए ।साथै कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह सर्वाेच्च अदालतबाट भ्रष्ट्रार सम्बन्धी मुद्धामा दोषी ठहर भएका मानिसका साथै डा. सरोज कुमार राय विरुद्ध केन्द्री अनुशासन आयोगमा आफैँलेउजुरी समेत हालेको अवस्थामा उनीहरुले आफुलाई अनुशासन पालक भएको दाबी गर्नु हाँस्यास्पद रहेको समेत मन्त्री रायले बताए।उनीहरु आफैँ अनुशासन हिन मानिसहरु रहेकाले उनीहरुले माग्दैमा आफुले जवाफ वा स्पष्टीकरण दिँदै नहिड्ने र आफ्नो स्पष्टीकरण आफ्नो प्रतिक्रिया सहित आएका विभिन्न सञ्चार माध्यामहरुका समाचाहरु नै रहेका समेत मन्त्री रायले बताए ।
पुर्व सभापति नागेन्द्र कुमार राय आफ्नै पालिमा भेला बोलाई लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार मेथुर चौधरीको साईकल छापका लागि भोट माग्दै गरेको एउटा भिडियो समेत मन्त्री रायले हामीलाई उपलब्ध गराएका छन्।जहाँ लोसपाका राजेन्द्र महतो समेत एउटै मञ्चमा देखिएका छन् भने पुर्व सभापति राय यादव कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीका संयोजक डा.सरोज कुमार राय यादवका बुबा हुन ।मन्त्री राय सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अम्रेश कुमार सिंहको फोटो समेत भएको व्यानर भएको कार्यक्रममा गएका पाइएको छ भने,विद्यालय प्रशासनले सांसद सिंह विद्यालयको संस्थापक भएकाले व्यानरमा उनको फोटो राखेएको जनाएको छ ।