सर्लाहीको हरिवन नगरपालिका २ लालभित्तिमा १२ दिने वाङ (अभिषेक) तथा प्रवचन कार्यक्रम आयोजना हुने भएको छ।हरिवन नगरपालिका २ लालभित्ति स्थित रहेको झ्याङछुब् छोलीङ गुम्बा समितिको आयोजनामा यही फागुन २३ गतेदेखि चैत ६ गतेसम्म १२ दिने वाङ (अभिषेक) तथा प्रवचन कार्यक्रम आयोजना हुने झ्याङछुब् छोलीङ गुम्बा समितिका अध्यक्ष पदमा गोले (थोकर)ले बताईन् ।उनका अनुसार नेपाल बौद्ध धर्म परिचय समाज,काठमाडौंको शाखा झ्याङछुब छोलीङ गुम्बा, लालभित्तिको आयोजनामा यही फागुन २३ गतेदेखि चैत ६ गतेसम्म १२ दिने वाङ (अभिषेक) तथा प्रवचन कार्यक्रममा आयोजना गर्न लागिएको हो ।
धर्म गुरु निरपेक्ष प्रवर्तक डा.गेशे लोब्साङ दावा रिन्पोछेको मुखारा विन्दबाट फागुन २३ गते हरियो ताराको बृहत वाङ अभिषेक,फागुन २४ र २५ गते हरियो ताराको आगम तथा व्याख्या,फागुन २६ गतेदेखि २८ गते सम्म बौद्ध धर्म निरपेक्ष पाठको आगम तथा व्याख्या,चैत १ गते अमिताभ बुद्धको बृहत् अभिषेक प्रदान,चैत २ गते देखी ६ गते सम्म अमिताभ बुद्धको पुजा,फोवा संक्रान्तिको आगम तथा व्याख्या गरिने कार्यक्रम तय भएको कार्यक्रम प्रचार प्रसार समितिका संयोजक शेर बहादुर योञ्जनले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समयमा सर्लाही जिल्लाका तामाङ समुदायहरुमा आफ्नो मौलिक धर्म,संस्कार र परम्परा लोपन्मुख भई रहेको अवस्थामा त्यसलाई संरक्षण तथा प्रवद्र्धन गर्ने हेतुले व्यक्ति परिवार र समाजमा सुख,शान्ती र समृद्धिको कामना स्वरुप बृद्धको ज्ञान प्रति चासो राख्ने नागरिकहरुलाई विभिन्न माध्यामबाट शिक्षा प्रदान गर्ने तथा अध्ययन अध्यापन गर्ने साथै बौद्ध धर्मले बौद्धमार्गी तथा गैर बौद्धमार्गीहरू दुवैलाई लाभान्वित हुने गरी कार्यक्रम गर्न लागिएको हो ।
त्यसैगरी,हरिवन नगरपालिका २ लालभित्ति स्थित रहेको झ्याङछुब छोलीङ गुम्बामा भोट भाषा,सम्पटा लिपिको अध्ययन अध्यापन गरेर यस क्षेत्रका महिला,बालबालिकाहरु तथा युवालाई साक्षर बनाउने तथा बौद्ध शिक्षा र ध्यान साधना अभियान समेत सञ्चाल भई रहेको नेपाल बौद्ध धर्म परिचय समाजका केन्द्रीय सचिव कुङ्गा गेले लामाले जानकारी दिए।उनका अनुसार जिल्लाका अन्य विभिन्न गुम्बाहरुमा यस प्रकारको अध्यपन,अध्यायन भई रहेको छ ।