मधेश प्रदेशमा “प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी,२०८१” सम्पन्न भएको छ । मधेश प्रदेशको अपराध अनुसन्धानको अवस्था,अपराध अनुसन्धानमा प्रदेश प्रहरी कार्यालयको भुमिका र तालुक कार्यालयहरुसँगको अपेक्षा र कानूनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न,अनुसन्धानको प्रभावकारिता अभिबृद्धिका लागि अनुसन्धानकर्ताहरू बिचमा समन्वयको विकास गर्न,अनुसन्धानमा देखिएका समस्या र चुनौतीहरूलाई सम्बोधन गर्नका लागि साझा धारणा विकास गर्न,अनुसन्धान सम्बन्धी नयाँ कानूनी व्यवस्था कार्यान्वयनमा एकरुपता कायम गर्न तथा प्रस्तावित अनुसन्धान तथा अभियोजनका विषयहरुमा केन्द्रित रहेको समिक्षा गोष्ठी सम्पन्न गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक(डिआईजी)लालमणी आचार्यले जानकारी दिए ।
उनका अनुसार जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख आतिथ्यता एवम उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल,नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागका प्रमुख एवम प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) कुवेर कडाय,उच्च सरकारी वकील कार्यालय धनुषाका सह–न्यायाधिवक्ता राजन राज घिमिरे,नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा(हाल जनकपुरधाम, धनुषा) का प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)सुरेन्द्र बहादुर गुरुङ्ग,नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)कृष्ण प्रसाद पंगेनी,मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)शान्तिराज कोईराला र जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ताहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयहरु,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा,नेपाल प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागका प्रहरी अधिकृतहरु,नेपाल प्रहरी विशेष सुरक्षा ढल्केवर धनुषाका गणपति,मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका गणपति,मधेश प्रदेश अन्तर्गत मुद्दा चल्ने सबै ईलाका प्रहरी कार्यालयहरुका प्रमुख र अपराध अनुसन्धान शाखाका प्रमुखहरुको सहभागिता रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) कोईरालाले बताए ।