सर्लाहीको लखन्देही नदीले कटान गरेको विभिन्न स्थानको जिल्लाका प्रमुखहरु सम्मीलित टोलीले निरीक्षण गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर १० हे.क्वा सर्लाहीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र शर्मा सहितको टोलीले जिल्लाको कटान क्षेत्रको निरीक्षण गरेको हो ।
त्यस क्रममा प्रमुख जिल्ला अधिकारी महतोले हरिपुर नगरपालिका–९, पिडारी ढापटोलमा भइरहेको कटान रोक्न जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख शर्मालाई निर्देशन दिनु भएको छ । प्रमुख जिल्ला अधिकारी महतोले स्थानीय तहसँग समन्वय गरी बुधबरबाट तटबन्ध कस्ने काम सुरु गर्न निर्देशन दिनु भएको छ ।
यस्तै, निरीक्षणका क्रममा कौडेना गाउँपालिका ६ सक्रौलमा नयाँ बन्दै गरेको पुल कटान गरिरहेको पाइएको उहाँले बताउनु भयो । त्यहाँ तत्कालै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा पुल कटान रोक्नका लागि बाँधको अस्थायी तटबन्ध बनाउने प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
यसैगरी, जिल्लाको टोलीले चक्रघट्टा गाउँपालिका–१, शिवनगरमा पनि लखन्देही नदीले गरिरहेको कटानको निरीक्षण गरेको छ । शिवनगरमा भने कटान रोक्नका लागि नदीलाई पहिला कै अवस्थामा फर्काउने काम सुरु भइसकेको पाइएको छ । निरन्तरको वर्षापछि लखन्देहीले ठाउँ–ठाउँमा कटान गरेपछि जिल्ला प्रमुखहरुको टोलीले मंगलवार निरीक्षण गरेको हो ।
त्यसैगरी कटान रोक्न जनताको तटबन्ध कार्यालयसँग समन्वय गरिरहेको हरिपुर नगरपालिकाका नगरप्रमुख जमिरुदिन मन्सुरले बताउनु भयो । लखन्देही खोलाले यो वर्ष चक्रघट्टाको शिवनगर, लालबन्दीको नवलपुर, मलंगवाको भाडसर, हरिवनको गणेशचोक, कौडेनाको सक्रौल लगायतका दर्जनौं स्थानमा कटान गरेर क्षति पु¥याइरहेको छ ।