पर्साको वीरगन्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गरेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ सईसहितसात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अध्यक्ष चतुर्वेदीले गत शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दर्ता गराएका थिए ।नेपाल प्रहरीका वरिष्ठ सई सागर शमशेर जबरासहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।उनका अनुसार फागुन २९ राती डायमण्ड पार्टी प्यालेसमा वीरगन्ज महानगरपालिका २५ का वडाध्यक्ष चतुर्वेदीमाथि निर्घात कुटपिट भएको थियो । आफूमाथि सात जनाको समूहले आक्रमण गरेका भन्दै अध्यक्ष चतुर्वेदीले जाहेरी दिएका थिए ।
डायमण्ड पार्टी प्यालेसको सीसीटीभी फुटेजमा समेत वडा अध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको देखिएको र नेपाल प्रहरीका वरिष्ठ सई राणा,प्रहरी जवान दिपेश क्षेत्री,वीरगन्ज महानगरपालिका १० का वडाध्यक्ष सुशील साह कानु,वीरगन्ज महानगरपालिका ११ घर भएका अन्दाजी ४२ वर्षीय भुषण यादव,वीरगन्ज महानगरपालिका ३२ का भुसाल चौरसिया, वीरगन्ज महानगरपालिका ६ का अन्दाजी ३७ वर्षीय विक्की गुप्ता,वीरगन्ज महानगरपालिका १० का लखन लाल गुप्ता विरुद्ध जाहेरी परि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक मिश्रले बताए ।अब उनीहरुलाई पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।