सर्लाहीको लालबन्दी नगरपालिका ८ निवासी समाजसेवी हेमराज दाहाल(सन्तोष)ले लालबन्दी नगरपालिका ५ को एक विद्यालयका विद्यार्थीहरुलाई चिसोबाट बचाउन जुत्ता,मोजा वितरण गरेका छन्।पछिल्ला केहि दिन देखि सर्लाहीसहित तराईका जिल्लामा निरन्तरको शितलहरले जनजिवन प्रभावित भई रहेको अवस्थामा समाजसेवी दाहालले लालबन्दी नगरपालिका ५ रन्जितपुर स्थित रहेको महेन्द्र आदर्श प्रा.विका एक सय १५ जना विद्यार्थीहरुलाई चिसोबाट बचाउन जुत्ता,मोजा वितरण गरेका विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिए ।
उनका अनुसार महेन्द्र आदर्श प्रा.विमा अध्ययनरत विपन्न एक सय १५ जना बालबालिकालाई उनिहरुको साईज अनुसारको एक सय १५ थान जुत्ता र मोजा दाहालले वितरण गरेका हुन ।समाजसेवी दाहालको आर्थीक सहयोग र लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा विद्यालयमा जुत्ता मोजा बाँडिएको संघका अध्यक्ष महेश महतोले बताए । विपन्न विद्यार्थी प्रायजसो चप्पल र कतिपय बालबालिका खाली खुट्टा नै विद्यालय जाने गरेका थिए।ति बालबालीका नयाँ जुत्ता मोजा पाएपछि खुसि भएका छन्।
पछिल्लो समय विपन्न परिवारका सन्तान मात्रै अध्ययन गर्ने थलो बनेको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका ज्यानै लिने चिसोका कारण प्रभावित हुने अवस्था देखेपछि आफुले सानो सहयोग गरेको समाजसेवी दाहालले बताए ।उनी प्रवन्ध निर्देशक रहेको पुलचोकको सुमेरु सिटी अस्पताल प्रा.लिमा सर्लाहीबाट उपचार गर्न जाने बिरामीहरुलाई समेत उल्लेख्य छुट गराएर उपचार गराउने लगायतका सामाजिक काम गर्दै आएका छन् ।