सिरहाको सलहेश फूलबारी मेलाको रौनक

401 Shares

सिरहाको लहान नगरपालिकास्थित सलहेश फूलबारीमा मेलाको रौनक छाएको छ। हरेक वर्ष नयाँ वर्षका दिन मात्र फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न आउने दर्शनार्थीहरुको चहल पहल बढेको छ ।हरेक वर्ष वैशाख १ गते लाग्ने मेलाको पूर्वसन्ध्यामा आईतबारदेखि नै फूलबारीमा श्रद्धालुहरुको चहलपहल बढेको लाहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले जानकारी दिए।उनका अनुसार नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी मेला आयोजना गर्न जयकान्त चौधरीको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।
“मेलालाई व्यवस्थित बनाउन स्वयम्सेवक खटाउने,व्यापारिक “स्टल”हरु बनाउने सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध मिलाईएको साथै मेलालाई व्यवस्थित गर्न सय जना स्वयम्सेवक खटाइएको र भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ।”मेला समितिका अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार मेला भर्न नेपाल तथा भारतबाट हजारौँ श्रद्धालु आउने गरेका र दुई दिनअघिदेखि भारतका विभिन्न राज्यबाट आउने हजारौँ श्रद्धालु मेलास्थलमा नै बसेका छन् ।
१४ औँ शताब्दीका राजा सलहेसको सौर्य,पराक्रम,वीरता,साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको लहान बजारदेखि चार किलोमिटर पश्चिम–दक्षिणमा पर्ने प्राकृतिक,सांस्कृतिक एवम धार्मिक पर्यटकीय सलहेश फूलबारी क्षेत्र सहलेश मन्दिरका पुजारी जीतेन्द्र धामीले बताए ।
उनका अनुसार नयाँ वर्षको एक दिनमात्र हारमको रुखमा सुनाखरी फूल फुल्ने र सोही दिन साँझ परेसँगै ओइलाउने किम्वदन्ती छ।त्यही फूल हेर्न तथा मन्दिरमा पूजापाठ गर्न धार्मिक पर्यटक आउने गरेका छन् ।राजा सलहेश तराईका पासवान जातिका इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति,चर्मरोग, कुष्ठरोगलगायत रोग नाश हुने जनविश्वास रहेको छ ।
सरकारले सहलेसलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको लाहान नगरपालिकाले जनाएको छ।स्थानीय,प्रदेश तथा संघीय सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला संघ/संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नुपर्नेमा नगर प्रमुख चौधरीले बताए ।

सम्बन्धित समाचार