हरिपुर्वा नगरपालिकाका सबै गतिविधिहरु आजबाट सुचारु

524 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिका कार्यालय र नगर भित्रका विद्यालयहरु आइतबार(आज)बाट सञ्चालन हुने भएका छन्।चालु आर्थिक वर्षको पहिलो साउनदेखि तलब नपाएको भन्दै नगर भित्रका सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्माचारीहरु माघ २८ गतेदेखि कार्यालय बन्द गरेर धर्नामा बसेका थिए । 
चालु आर्थिक वर्ष २०८०÷०८१ सुरु भएको छ महिनापछि नगर परिषद् गरेपछि नगरपालिकाको खाता सञ्चालन आएको र खाता सञ्चालनमा आएपछि तलब खान बाटो खुलेको भन्दै नगर भित्रका सामुदायिक विद्यालयहरुका शिक्षक तथा कर्माचारीहरु र नगरपालिकाका कर्माचारीहरुले धर्नाका कार्यक्रमहरु बन्द गरी नियमित कार्यालय सञ्चालन गर्न सहमत भएका हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह तेलीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादव र आफुले लामो प्रयास गरेर नगर परिषद् गराएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीमा नगरपालिकाको खाता सन्चालनमा आइसकेपछि तलब,भत्ता निकासा गर्ने बाटो खुलेको र नगरपालिकाका कर्माचारीहरुका साथै शिक्षक तथा विद्यालयका कर्मचारीहरु आईतबार(आज)देखि आफ्नो काममा फर्किने भएका नगर प्रमुख साहले बताए ।
नगर परिषद् भई सकेकाले आफुहरुको हाल सम्मको तलब आउने शंकेत देखिएकाले आफुहरु आज(आइतबार)बाट विद्यालय खोलेर नियमित पठनपाठनमा सहभागी हुने हरिपुर्वा नगरपालिका ५ स्थित रहेको केश्वर गरिब जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय कुमार यादवले बताए । उनका अनुसार माघ २८ गतेदेखि नै धर्नामा बसेका नगर भित्रका सबै सरकारी सेवा सुविधा लिने शिक्षकहरु तथा कर्माचारीहरु आज(आइतबार)देखि नियमित आफ्नो काममा फर्किन लागेका हुन ।
नगर परिषद् नहुँदा कार्यालयमा काम गर्नका लागि कागजातदेखि मसलन्द लगायत अन्य सामग्री सकिनुका साथै वडा कार्यालयहरुको बिजुलीको महशुल नबुझाउँदा बत्ती काटिएपछि सेवा प्रवाह प्रभावित भएकाले आफुहरु आन्दोलीत भएको भएपनि नगर परिषद् भएपछि तलब खाने तथा नगरपालिकाले बजेट चलाउन पाउने भएकाले आफुहरु नियमित काममा फर्किएको हरिपुर्वा नगरपालिकाका वडा सचिवहरुले बताएका छन् ।
उनीहरुका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बजेट संचालन नहुँदा वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कागजात एवम मसलन्दसहितका सबै सामग्री सकिएका छन् ।हरिपूर्वा नगरपालिकाले फागुन ७ गते बहुमतका आधारमा नगरसभा गरेर चालू आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याएको नगर शिक्षा शाखाका प्रमुख जनक काफ्लेले बताए । उनका अनुसार नगर सभा भएपनि हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवको माघ ३ गते नै सरुवा भइसकेको भएपनि नगरका जनप्रतिनिधिहरु र कर्माचारीहरुले आग्रह गरेपछि फागुन ७ गते नगर सभा गराएका हुन ।
यता,अब क्रमैसँग नगरका प्रत्येक समस्याहरुको समाधान हुँदै जाने नगर प्रमुख साहले बताए ।उनले सामाजिक सुरक्षा भत्ताको एक किस्ता रकम बैँकमा आई सकेको र  बाँकी रकम बिदा सकिएपछि निकासा गर्दै जाने बताए ।ढिलै भएपनि नगर सभा भएकाले सामाजिक सुरक्षा भत्ता,शिक्षक तथा कर्मचारीहरुको तलब निकासासँगै नगरका विकास  निर्माणका काम पनि अब सूचारु हुने उनको भनाई छ ।नगरप्रमुख साहले अन्यत्र सरुवा गरि भई सकेका भएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को उपसचिव नपठाएसम्म रमाना दिएर नपठाउने समेत नगर प्रमुख साहले बताए ।

सम्बन्धित समाचार