पेस्तोल पड्काँउदै नाचेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य सप्तरीको बोधेबर्साई नगरपालिका ५ की डा.बबी सिंह यादवलाई प्रहरीले छाडेको छ।हल्दी–मेहेन्दी समारोहमा पेस्तोल पड्काउँदै नाचेकी डा.यादवलाई सामान्य सोधपुछपछि छाडिएको पाइएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले डा.यादवलाई बयानका लागि बोलाएको थियो।प्रारम्भिक अनुसन्धानमा उनले प्रयोग गरेको पेस्तोल बारुद मात्रै पड्किने किसिमको “ब्ल्याङ्क फायर” पिस्टल भएको पुष्टि भएपछि कागजी प्रक्रिया गरी छाडिएको जिल्ला प्रहरी कार्यालय सप्तरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार घटना सर्लाहीको मलंगवा नगरपालिका २ मा भएको हुँदा बाँकी अनुसन्धान सर्लाही प्रहरीले अघि बढाउने छ ।डा.यादवले वैशाख ११ मा मलंगवाको भाँड्चौरमा भएको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काउँदै नाचेको भिडियो टिकटकबाट सार्वजनिक भएको थियो ।भिडिओ भाइरल भएपछि उनी प्रहरी निगरानीमा आएकी थिइन्।

डा.यादले उक्त हतियार सर्लाहीको मलंगवा नगरपालिका २ का अञ्जनी तिलहरीको रहेको भन्दै बयान दिएपछि अञ्जनीको घरबाट प्रहरीले सो पेस्तोल बरामद गरेको जनाएको छ ।एक थान गोली सहित बरामद् भएको पेस्तोल नक्कली हो होईन भन्ने विषयमा प्रहरी नै अन्यौलमा देखिएको छ ।