सर्लाहीको मलंगवा नगरपालिका ७ मुसैलीका स्थानीयले आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ मा सञ्चालन भएका वडा स्तरिय योजनाहरूको विस्तृत विवरण सार्वजनिक गर्न माग गरेका छन्।विगत दुई आर्थिक वर्षमा कुन योजनामा कति बजेट खर्च भयो र सो अवधिमा वडा कार्यालयमा कति कर्मचारी कार्यरत थिए भन्ने विवरण माग गर्दै स्थानीयले वडा कार्यालय तथा नगरपालिकामा दबाब दिएका छन् ।

विवेक कुमार यादव,कृष्णा कुमार यादव,राम विश्वास राय,राजदेव राय र रामदास महतो लगायतले मलंगवा नगरपालिका ७ का वडा अध्यक्ष ईशा मिकरानी समक्ष लिखित रूपमा सूचना माग गरेका हुन ।तर,नौ महिनासम्म कुनै प्रतिक्रिया नआएपछि स्थानीयले नगरप्रमुख नागेन्द्र प्रसाद यादवलाई निवेदन दिएका थिए।निवेदनपछि नगरप्रमुख यादवले लेखा शाखालाई आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएका मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए ।

उनका अनुसार लेखा शाखाबाट अहिलेसम्म सार्वजनिक रूपमा कुनै सूचना नआएपछि स्थानीय आक्रोशित भएका हुन ।जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गरी चार दिनभित्र माग गरिएको विवरण सार्वजनिक नगरिए वडा कार्यालय र नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन्।