सर्लाहीको हरिवन नगरपालिका ११ बालुवाटार(सुकुम्बासी) बस्तीमा बिजुलीका पोल गाड्ने र तार टाँग्ने काम सुरु भएको छ ।हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी(कमल)को विशेष पहलमा सो क्षेत्रमा विद्युतीकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम सुरु भएको हो ।
निवर्तमान नगर प्रमुख गणेश प्रसाद प्रसाईले हरिवन नगरपालिका ११ बालुवाटार(सुकुम्बासी) बस्तीमा बस्ती बस्न नदिने र सो जग्गालाई कित्ता काट गरि विक्रि वितरण गर्ने तयारी समेत गरेका थिए । तर उनको कार्यकाल सकिएको र नयाँ नगर प्रम्ुख आएपछि हरिवन नगरपालिका ११ बालुवाटार(सुकुम्बासी) बस्तीमा विद्युतीकरणका लागि पोल गाड्ने र तार टाँग्ने काममा नगर प्रमुख बुढाथोकी आफैँ भिडेर लाग्नुु भएको उहाँका स्वकीय सचिव गौतम महतोले जानकारी दिनु भयो ।
नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक समेत रहनु भएका नगर प्रमुख बुढाथोकीले स्थानीय तहको निर्वाचनको समयमा आफूले जिते सुकुम्बासी बस्तीमा बिजुली ल्याइदिने प्रतिबद्धता जनाउनु भएको र सोही अनुसार काम सुरु भएको नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले बताउनु भयो ।
हरिवन नगरपालिकाको पहलमा बालुवाटारको सुकुम्बासी बस्तीमा विद्युत् प्राधिकरणले केही दिनदेखि विद्युतीकरणको काम गरिरहेको नगर कमिटि अध्यक्ष पन्तले जानकारी दिनु भयो । उर्जा मन्त्री पम्फा भुसाललाई ल्याएर सोक्षेत्रको समस्याका बारेमा नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक बुढाथोकीले स्थलगत अवलोक गराई जानकारी गराउनु भएको थियो । सोही अनुसार नगरपालिकाको पहलमा सो क्षेत्रमा विद्युतीकरणको काम सुरु भएको हो ।
सोक्षेत्रमा विद्युतीकरणका लागि विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका कर्माचारीहरुका साथै नगर प्रमुख बुढाथोकी र स्थानीयले श्रमदान गरेर सघाइरहेका विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका संजिव कुमार साहले जानकारी दिनु भयो । सुकुमवासी बस्तीमा विद्युतीकरणसहित जमिनको लालपुर्जसमेत दिने स्थलगत अवलोकमा आउनु भएकी मन्त्ती भुसालले प्रतिबद्धता जनाउनु भएकोथियो । बालुवाटारको सुकुमवासी बस्तीमा करिब ९० घर परिवार सुकुम्बासीहरुको बसोबास रहेको छ ।