बुधबार दिउँसो नागढुंगामा एक ट्राफिक प्रहरी निरीक्षकले ड्युटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक पदमबहादुर विष्टको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी नायव उपरिक्षक र जिल्ला प्रहरी परिसर काठमाडौंका एक निरीक्षकसहित पाँच जना सदस्य रहेका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार समितिलाई एक हप्ताभित्र छानविन गरी प्रतिवेदन पेश गर्न समय दिइएको छ।
बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग,नागढुंगाका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले सोही प्रभागमा कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट गरेका भिडियो विभिन्न सामाजिक सञ्जालहरुमा भाईरल भएपछि प्रहरी निरीक्षक साहलाई निलम्बन गरी छानविन समिति गठन गरी प्रक्रिया अघि बढाएको छ।प्रहरी प्रधान कार्यालयका अनुसार समितिको छानबिन प्रतिवेदनका आधारमा आवश्यक विभागीय कारबाही गरिने छ ।