मधेशका वन सचिव घिमिरे अदालत भन्दा बाहिर अवकाश भएकालाई असुलीको जिम्मा र गौप्य सचिवालय

340 Shares

वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धब बहादुर घिमिरे आर्थिक चलखेल गरी सर्वोच्च अदालतको आदेश विपरित सञ्चालन भएका पाइएको छ।अवकासमा गइसकेका कर्मचारीलाई सचिव घिमिरेले मन्त्रालयमा खटाएर अदालतको आदेश विपरितका गतिविधहिरु गरी रकम असुल्ने सिण्डिकेट चलाएका पाएको हो ।
मन्त्रालयमा कार्यरत प्रशासन सेवाका सहायक शाखा अधिकृत राम बल्लभ मिश्र र वन सेवाका उपसचिव बिपिन कुमार झालाई सर्वोच्च अदालतको २०८१ फागुन १२ गतेको आदेशले नै अवकाश गराएको थियो।तर मन्त्रालयका सचिव घिमिरेले उनीहरुलाई आफ्नो सचिवालयमा खटाएर कर्मचारी सरुवादेखि मन्त्रालय मातहतका योजनाहरुमा कमिशन असुल्ने काम गरेका स्रोतको दाबी छ ।
निजामति कर्मचारी सेवा ऐनमा कर्मचारीको सेवा अवधि ५८ वर्ष रहेको तर मधेस प्रदेश सरकारले ल्याएको ऐनमा ६० वर्ष कायम गरेको छ।मधेस प्रदेशमा कार्यरत मिश्र र झालगायत ४६ जना कर्मचारीले प्रदेश ऐन अनुसार ६० वर्षसम्म कामकाज गर्न पाउनुपर्ने माग दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।उनीहरुमध्ये केहीको हकमा सुरुमा सर्वोच्च अदालतले प्रदेश सरकार लगायतको नाममा उत्प्रेशन आदेश समेत जारी गरिसकेको थियो तर २०८१ फागुन १२ गते सर्वोच्च अदालतका न्यायाधिसद्वय हरिप्रसाद फुयाल र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले निजामति कर्मचारी सेवा ऐन अनुसार नियुक्त भएका कर्मचारीहरुलाई ५८ वर्ष सेवा अवधि नै कायम रहने गरी यसअघि जारी भएको उत्प्रेशन आदेशलगायत सबै रिट खारेज गरिदिएको थियो ।
सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालय अन्तर्गत कार्यरत मुनेश्वर यादव लगायतलाई अवकाश दिएर पठाएको भएपनि वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरेले मिश्र र झालाई मन्त्रालयमा नै हालसम्म कामकाजमा खटाउँदै आएका छन्।मिश्रको नाममा सर्वोच्च अदालतले उत्प्रेशन आदेश समेत दिएको थिएन तर सचिव घिमिरेले अबैध रकम संकलन गर्न नियम कानुन र सर्वोच्चको आदेशविपरित उनीहरुलाई मन्त्रालयमा खटाइरहेको मन्त्रालयका एक कर्मचारीहरुले बताए । मन्त्रालयका उपसचिव अन्जना कायस्थ श्रेष्ठ,सहायक शाखा अधिकृत राम बल्लभ मिश्र र कानून अधिकृत दिप नारायण साहलाई सचिव घिमिरेको गोप्य सचिवालयको सदस्य भनेर कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् । 
मधेश प्रदेशको वन सेवाका उपसचिव एवम नेपाल वन प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष सुजित कुमार झाले सामाजिक सञ्जाल फेसवुकमा“प्रदेश सचिव उद्धव बहादुर घिमिरे साहबको आगमन पछि,चेन अफ कमान्ड भत्केपछि,वन प्राविधिकहरु मानसिकता खस्केपछी हुने यस्तै हो, अहिले मधेश प्रदेशको फरेष्ट्री सेक्टर प्रसब वेदनावाट गुज्रिएको अवस्थामा हे भगवान इन्द्र बचाई दिनुहोस जंगललाई मात्रै भन्न सक्ने अवस्थामा छु ।”लेखेका छन् । 
सचिव घिमिरे मन्त्रालयमा हाजिर भएदेखि मन्त्रीहरुको अनुकुलतामा बसेर कर्मचारी सरुवा र योजना बाँडेर कमिशन उठाउन आँखा चिम्लिेर हस्ताक्षर गरिदिने र आफू भत्ता पाउने तालिम, गोष्ठी सेमिनारका साथै महिनामा ३÷४ पटकसम्म परिवार भेट्न काठमाडौं जाने सुबिधा लिँदै आएको स्रोतको भनाइ छ।मैथिली भाषा राम्रो बोल्ने सचिव घिमिरेले आफ्नो जन्मथलो मधेस प्रदेशको सिरहास्थित ठाडी भएको र मन्त्री संजय यादवको साथ रहेको भन्दै कर्मचारीहरुलाई धम्काउँदै आएका समेत पाइएको छ । 
“सचिव घिमिरेको कार्यदक्षता अभावले मधेस प्रदेशको वन तथा वातावरण क्षेत्रको योजनाहरुमा ब्रम्हलुट मच्चिएको छ।सचिव घिमिरेको कार्यक्षमता अभावले मन्त्रालयको हरेक कामकाज अपारदर्शी रहेकोले कुनैपनि योजनाहरुको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि उनी कहिलै पनि अनुगमनमा समेत नजाने गरेका तर भत्ता बुझ्दै आएका छन् ।जसले वन तथा वातावरण क्षेत्र लथालिङ् बनेको छ । उनी मधेश मै कार्यरत नै रहे मधेस प्रदेशको वन क्षेत्र १५ प्रतिशत झर्न बेर लाग्दैन् ।”मन्त्रालयका अर्का कर्मचारीले भने,
मधेश प्रदेश आउनु अघि लुम्वनी प्रदेशको वन मन्त्रालयमा प्रदेश सचिवमा रहँदा पनि उनको कार्यशैली सधै विवादित र अपारदर्शी रहेको रहस्य बाहिरिएको छ ।सचिव घिमिरेले लुम्वनी प्रदेशको गेम चेञ्जर आयोजना भनेर चिनिएको “समृद्धिको लागि वन परियोजना कार्यक्रम”लाई लथालिङ बनाएर हिडेको त्यहाँको स्रोतबताउँछन् ।
विश्व वैंकको सहयोगमा मधेसमा पनि “समृद्धिको लागि वन परियनेजना कार्यक्रम”सञ्चालन भई रहेको छ ।तर सचिव घिमिरेले उक्त कार्यक्रमको प्रदेश ईकाईको प्रमुखमा डाक बढाबढ्मा सरुवा गर्नुका साथै कमिशनको चलखेलमा लथालिङ बनाएको मन्त्रालय स्रोतको भनाई छ।व्यापारीक पृष्ठभूमिका वन मन्त्री यादवकोे निर्देशनमा सचिव घिमिरेले प्रत्येक २÷३ महिनामा उक्त कार्यक्रमको प्रदेश परियोजना व्यवस्थापन ईकाईका प्रमुखहरु परिवर्तन गर्दै आएका छन् ।
सागरनाथ वन विकास परियोजना सर्लाही प्रदेश सरकार मातहात रहनु पर्ने भनी प्रदेश सरकारले नेपाल सरकार विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको र त्यसको कार्यान्वयनमा मन्त्री यादव र सचिव घिमिरेको कुनै चासो नरहेको कर्मचारीहरुको भनाइ छ ।सचिव घिमिरेको असक्षमताले सर्वोच्चको आदेश कार्यान्वयन नभएर प्रदेश सरकारलाई ठूलो क्षति हुनुका साथै संघीयताको प्रभावकारी कार्यान्वयनमा समेत आघात पुगेको वनविज्ञहरु बताउँछन् ।
मन्त्रालयले हालै गरिएको अधिकृतहरुको सरुवामा ब्यापक आर्थिक चलखेल गरेको स्रोतको भनाइ छ।वन निर्देशनालय जनकपुरधाममा कार्यरत वन सेवा जनरल फरेष्ट्री समूहका सातौँ तहका अधिकृत प्रेम महतोलाई डिभिजन वन कार्यालय बारामा,सोही सेवा समूहका आठौँ तहका अधिकृत बाल किशोर सिंहलाई डिभिजन वन कार्यालय धनुषावाट डिभिजन वन कार्यालय रौतहटमा ठूलो आर्थिक चलखेल गरी बेमौसमी सरुवा गरिएको कर्मचारीहरु स्रोतको दाबी छ । त्यसैगरी डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत सातौँ तहका राजेश साहलाई डिभिजन वन कार्यालय रौहतटका प्रमुख एवम डिभिजनल वन अधिकृत हेमन्त साहको दवावमा रौतहटवाट बारामा अनियमित सरुवा गरिएको छ।कर्मचारीहरुलाई सचिव घिमिरेले मन्त्रीज्यूको निर्देशन अनुसार अधिकृतहरुको सरुवा गर्नु परेको प्रष्टीकरण दिँदै आएका समेत पाइएको छ ।
कर्मचारी सरुवामा पैसा नदिने कर्मचारीलाई आफ्नो वर्ग शत्रु ठान्ने मन्त्री यादवको ठाडो आदेशमा जुनसुकै वेला सरुवा गर्न तत्पर रहने सचिवको सरुवा अस्त्र सबैको चासोको विषय बनेको छ । प्रचलित निजामती सेवा ऐन बमोजिम अवधि पुगेको सबै कर्मचारीको सरुवा हुनु पर्दछ र गर्छु भन्ने गरेका मन्त्रि साह र सचिव घिमिरेको भनाई र गराईमा अन्तर रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।अन्य कर्मचारीका लागि अवधी पुगेको थ्रेशहोल्ड बनाउने मन्त्री साह र सचिव घिमिरेले मन्त्रालयमा विगत तीन वर्ष भन्दा बढी समय देखि कार्यरत वन सेवा उपसचिव अन्जनाको सरुवा किन गर्न गराउन नचाहेको हो ?करिब पाँच वर्ष भन्दा पनि बढि समय देखि मन्त्रालयमा कार्यरत प्रशासन सेवाका सहायक शाखा अधिकृत मिश्रलाई किन सरुवा गरिदैन ?
सहायक शाखा अधिकृत मिश्र र वन सेवाका उपसचिव झालाई अवकास दिने बारेमा मन्त्रालयले मुख्यमन्त्री कार्यालयको पत्र कुरेर बसेको मन्त्रालयका सूचना अधिकारी निरज साहले बताए।उनका अनुसार सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै उनीहरुलाई अवकास दिन मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि मात्रै प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी रहेको छ ।
यता,सो सम्बन्धमा सोध्दा वन सचिव घिमिरेले मन्त्रालयलाई पहिलोको जस्तो लथालिङ्ग बनाउन नदिन गोप्य शाखा सञ्चालन गरेको स्वीकार गरे।उनले मित्र राम बल्लव मित्र र विपिन कुमार झाको सवालमा पत्र नआएको रपत्र आएपछि जाने बताए।छोटो छोटो समयमा कर्मचारीहरुको सरुवा गर्दा अन्जना र दिप नारायणको सवालमा मन्त्रालयले मात्रै चाहेर सरुवा गर्नसक्ने अवस्था नरहेको बताए।उनले प्रेम महत्तो र बल किशोर सिंहलाई सरुवा गर्ने सवालमा कार्यलयको माग र कर्मचारीहरुको समस्याको आधारमा गरिएको बताए।उनले आफु र मन्त्रालयलाई लगाईएका कुनैपनि आरोपहरुमा सत्यता नरहेको बताए।उनले डिभिजनल अधिकृतहरुको सरुवाको सवालमा मुख्यमन्त्रीको हातमा रहेको समेत बताउँदै त्यसको सबै भागिदार मुख्यमन्त्री कार्यालय नै रहने समेत बताए ।

सम्बन्धित समाचार