सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने सरकारले बजेटबाट घोषणा गरेपछि सो फिर्ता हुनुपर्ने माग गर्दै सर्लाहीका सुनचाँदी व्यावसायीहरुले आन्दोलनको घोषणा गरेका छन् ।नेपाल सुनचाँदी व्यवसायी संघ,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा नेपाल हस्तकला महासंघले सयुक्त रूपमा विलासी कर र हिराको गहनाको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका हुन ।
स्वरोजगार कला र सीपसँग जोडिएको पेशालाई प्रोत्साहान गर्नुको सट्टा कानुनले नगदको रुपमा मानेको सुनलाई विलासीको वस्तुको रुपमा कर लगाउदा सुनको मूल्य अझ बढन् गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने नेपाल सुनचाँदी व्यवसायी संघ लालबन्दी नगर समिति अध्यक्ष अर्जुन साह सोनारले बताए । उनका अनुसार घरेलु कला र सीपमूलक सुनचाँदी पेशाबाट हजारौ कालिगढको परिवारको रोजिरोटी चलेको भन्दैं सरकारले सुनचाँदी पेशाबाट नै पलायन गराउने ढंगबाट काम गरेकाले आफुहरु बाध्य भएर सडकमा आउनु परेको हो ।
सरकारले वजेट भाषणबाट सुनको खरिद विक्रीमा अनिवार्य दुई प्रतिशत कर लगाउदा सुन तोलामा रु चार हजार बढी तिर्नुपर्ने हुन्छ।यसबाट उपभोक्ता र व्यवसायी दुवै मारमा पर्ने र व्यवसायबाट समेत पलायन हुने व्यवसायीहरुको भनाई छ।अहिलेको वजेट भाषणबाट रु २० हजार भन्दा वढी सुन व्यवसायी र करिब डेढ लाख भन्दा वढी कालिगढहरुको रोजगार खोसिने समेत सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।
छिमेकी मुलुक भारतमा भन्दा नेपालमा भन्सार दर चार प्रतिशत बढि भएकोले त्यसलाई घटाएर भारतमा जस्तै छ प्रतिशत भन्सार दर बनाउन पनि व्यवसायीहरूले माग गरेका छन । संघर्षका कार्यक्रम अनुसार जेठ २९ र ३० गते पसल बन्द गरेर चाँबी सहित जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सुनचाँदी ब्यवसायी संघ सर्लाहीले जनाएको छ ।