पर्साको ठोरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको रहस्य बाहिरिएको छ।निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बहादुर थापा र लेखा अधिकृत बुद्धिसागर मरहठ्ठाको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको पाइएको हो।लेखा अधिकृत मरहठ्ठाले आफुहरुको कर्तुत बाहिर नजाओस भन्नका लागि आफ्नी श्रीमती मन्दीरा पहाडीलाई सहायक कम्प्यूटर अपरेटरमा करारको नियुक्ती दिलाई आर्थिक प्रशासन शाखाको सहायकमा राखी काम गराएको विषय अनौपचारीक रुपमा अनुसन्धान गर्ने क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको पाइएको स्थानीय जानकारहरु बताउँछन् ।
लेखा अधिकृत मरहठ्ठा ठोरी गाउँपालिका कै स्थानीय भएकाले उनले आफ्नै कर्मचारीहरुको भुक्तानी गर्दा पनि पहिला झुलाउने र बार्गेनिङ गरी कमिसन फिक्स भएपछि मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाको सहमतिमा भुक्तानी दिने गरेका समेत पाइएको छ।
ठोरी गाउँपालिकामा विशेष गरी सामाजिक विकास कार्यक्रम अन्र्तगत लक्षित वर्गको कार्यक्रममा ३० देखि ५० प्रतिशत सम्म कमिसन लिई भुक्तानी गर्ने गरेको स्रोतको दाबी छ ।ठोरी गाउँपालिकामा सञ्चालित कैयौं कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाको मिलेमतोमा कर्मचारीहरुले नै आफ्नो नाममा पेश्की लिई कागजमा मात्र कार्यक्रम गरी फर्जि बिल बनाई पेश गर्ने र भुक्तानी लिने गरेका समेत पाइएको छ ।
त्यसैगरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रम,कृषि शाखा,स्वास्थ्य शाखा र पशु शाखाबाट भए गरेका कार्यक्रमहरुमा प्रायःफर्जि बिलहरु पेश गरी भुक्तानी लिने गरेको पाइएको हो । फर्जि बिल व्यवस्थापनको जिम्मा सम्बन्धित फाँट प्रमुखहरुको समन्वयमा वित्तिय साक्षरता सहजकर्ता हेम कृष्ण चापागाई र पशु शाखाका कृष्ण बहादुर कार्कीले गर्ने गरेको समेत स्रोतको दाबी छ ।
त्यसैगरी पशु शाखामा काम गर्दै आएका कार्कीलाई जिन्सी प्रमुखको जिम्मेवारी दिई जिन्सीको सामानहरु नमगाई बिल मात्र पेश गरी निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाले भुक्तानी दिएका स्रोतले जनाएको छ।भ्रष्टाचारको मामिलामा सिपालु मानिएका निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाले आर्थिक वर्ष २०८१÷०८२ मा भुक्तानी गरेका सामाजिक विकास कार्यक्रम अन्र्तगत लक्षित वर्गको कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम,कृषि शाखा,स्वास्थ्य शाखा र पशु शाखा लगायतका कार्यक्रमहरु कागजमा मात्रै भएका स्रोतको दाबी छ ।
त्यसैगरी,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा र लेखा अधिकृत मरहठ्ठाको भ्रष्टाचार कार्यमा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको समेत मिलेमतो रहेको रहस्य बाहिरिएको छ ।सो सम्बन्धमा गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कमलामाई मिडिया प्रा.लि.ले प्रतिक्रिया लिन फोन गर्दा उनको फोन उठेन्।गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले आफुहरुलाई अनावश्यक आरोप लगाईएको र त्यसमा कुनै सत्यता नरहेको दाबी गरे।उनले प्रतिसोधात्मक रुपमा समाचार लेखिएको समेत बताए ।
तर स्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष श्रेष्ठ समेतको मिलेमतोमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको छ।एउटै कर्मचारीलाई विभिन्न तीन वटा शाखाको जिम्मा दिनु,कार्यक्रम नै नगरी फर्जि बिल बनाएर भुक्तानी लिनु,सरकारी मोटरसाईकललाई निजी नम्बर राखेर प्रयोजन विपरित चलाउने लगायतका गतिविधिका कारण गाउँपालिकाका अन्य जनप्रतिनिधिहरु अध्यक्ष श्रेष्ठसँग असन्तुष्ट देखिएका स्थानीयको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष श्रेष्ठ,निमित्त प्रमुख प्रशासकीय अधिकृत थापा,लेखा अधिकृत मरहठ्ठा र पशु शाखाका कर्मचारी कार्कीको मिलेमतोमा प्रिन्टरमा प्रयोग हुने रु छ सय ५० पर्ने कार्टेज देखि लिएर रु ५० देखि ७० हजार सम्म पर्ने एसीको मनलाग्दी बिल बनाई पेश गरेर भुक्तानी गरेका,उज्यालो ठोरी कार्यक्रम अन्र्तगत गत भदौमा सडकको पोलमा भेपर लाईट लगाउनु पर्नेमा साधारण बल्ब खरिद गरी सोमा कभर हाली रु १० लाखको बिल पेश गरी भुक्तानी गरेर व्यापक भ्रष्टाचार गरेका पाएको स्रोतको दाबी छ ।