रास्वपाको दुई तिहाई नजिकै पुग्दा विवादितहरूको भेटघाट गर्ने लर्को,पक्राउ पूर्जी जारी भएका चौधरीको चुरीफुरी

194 Shares

२०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी पार्टीले लगभग बहुमत नै ल्याएपछि तस्कर,अपराध कर्म गर्नेदेखि कर छली गर्ने सबै खालका खराब ब्यक्तिहरु उक्त पार्टीतिर लागे।फलस्वरुप उक्त पार्टी छ वर्षपछि भएको निर्वाचनमा तेस्रो शक्तिमा खुम्चिन पुग्यो ।
२०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दुईतिहाई नजिकै मत ल्याउँदा विवादित र अवैध असुली गर्नेहरु सो पार्टीका नेताहरुसँग निकट हुन थालिसकेका छन्।राजनीतिक आडमा देश दोहन गर्न पल्किएका उनीहरु रास्वपाका नेताहरु निर्वाचित भएपछि बधाई थाप्न घर घर जान थालेका छन् ।
नक्कली नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्याल रौतहटबाट पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी कलवार र उनका छोरा रोशन चौधरी अनुसन्धानलाई प्रभावित पार्न रास्वपाका नवनिर्वाचित सांसद डा.अमरेश कुमार सिंहको शरणमा पुगेका छन् ।
नेकपा(एमाले)का सचिव महेश बस्नेत र आम जनता पार्टीका अध्यक्ष प्रभु साहको आडमा राजमार्गमा गुण्डागर्दी र अवैध निकासी कर असुली गर्दै आएका रोशन चौधरी र उनका बुबा बाबुनन डा.सिंहले घरमै भेटेर बधाइ दिएका छन् । 
फागुन २८ गते बिहीबार रोशन चौधरी र उनका बुबा बाबुननले डा.सिंहको निवासमै गएर उनलाई सांसद निर्वाचित भएकामा खादामाला सहित बधाइ दिएका छन्।रोशनले डा.सिंहलाई बधाइ दिएको तस्वीर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।
बाबुननका विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटबाट २०८२ भदौ २ गते पक्राउ पूर्जी जारी भएको पाईएको छ।तिनै पक्राउ पूर्जी जारी भएका र एमाले नेता बस्नेत र आम जनता पार्टीका अध्यक्ष साहको दबाबका कारण पक्राउ पर्नबाट जोगिंदै आएका बाबुनन र उनका छोरा रोशनले विगत केही वर्षदेखि नेपालमा वार्षिक रु एक अर्व निकासी कर गैरकानुनी रुपमा असुली गर्दैआएका छन् ।
धादिङको धुनीबेसी नगरपालिकाको कवाडी संकलनको ठेक्का लिएर ललितपुर महानगरपालिकादेखि काठमाडौं उपत्यका राजमार्गमा अवैध निकासी कर असुल्ने गरेका भारतीय नागरिक बाबुनन नेपालमा खाली सिसी पुराना कागज जस्तै कवाडी बटुली आफ्नो जीवन धान्न आएका पाईएको छ ।बिहार राज्यको सितामढी जिल्लाका उनका घरमा दुई छोरामध्ये रोशनले कवाडी काममा नक्कली भ्याट बिल बनाएर अरबौं रुपैयाँ करछली गरेका थिए ।
राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विलमा रु २५ करोड जरिवाना लगाउने गरी मुद्दा दर्ता गरेपछि रोशनले पेशा परिवर्तन गरे र उनले एक सय ५० वटा मोटरसाइकल चलाउने तीन सय भन्दा बढी युवाको एक गिरोह खडा गरेका छन्।काठमाडौं उपत्यकाभित्रका कुनै पनि पालिकामा कवाडीको ठेक्का लगाउन मुद्दा मामिला गरेर नदिने धादिङका राजमार्गमा ढुकेर जबर्जस्ती कवाडी कर असुली गर्दै आएका छन्।एउटा गाडीसँग रु ४० हजारसम्म कवाडी कर असुली गर्दै आएका रोशन र उनका बुबा बाबुननले अदालतदेखि सबै निकायलाई प्रभावमा पारी दैनिक रु ३० लाख अवैध रुपमा निकासी कर व्यवसायीबाट असुली गर्दै आएका उनीमाथि आरोप छ ।
एउटा पालिकाबाट गएको कुनै पनि बस्तु वा उत्पादनको कर अर्को पालिकाले लिन नपाउने अर्थ मन्त्रालय,गृहमन्त्रालयदेखि सबै निकायको परिपत्र विपरीत रोशनको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैर कानुनी रुपमा असुलिरहेको छ।काठमाडौं उपत्यकाको ललितपुर महानगरलाई मात्र अदालत प्रयोग गरी टेण्डर हुनै नदिएर रोशनले वार्षिक रु १२ करोड घाटा पुर्याएका छन् ।
काठमाडौं उपत्यकाबाट बाटो हुँदै जाने जुनसुकै नगरपालिकाका कवाडी बोकेको गाडी र राँगाको हाड–सिङ बोकेको गाडीबाट जबर्जस्ती निकासी कर लिने छुट गैर कानुनी रुपमा रोशन र बाबुननले पाएका छन्।एउटा नगरपालिकाबाट उत्पादन भएको जुनसुकै सामानको कर अर्को स्थानीय तहले लिन नपाउने र त्यस्तो कर असुली गर्न रोक्न गृहमन्त्रालयले २०८१ कात्तिक १२ गते सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।तर त्यो निर्देशन विपरीत रोशनको आर एण्ड आर भालचन्द्र ट्रेड कन्सर्नले राजमार्गमा निकासी कर गैरकानुनी रुपमा असुलिरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल नेतृत्वको इजलासले कवाडी कर अनिवार्य रुपमा तिर्नुपर्ने,एउटा नगरपालिकाले कर लिइसकेपछि अर्को पालिकाले लिन नपाउने फैसला २०८१ भदौमा गर्यो।त्यसपछि रोशनले धुनिबेसी नगरपालिकाको ठेक्का वार्षिक तीन करोड दिनेगरी लिए र काठमाडौं उपत्यकाभित्र कुनै पनि नगरपालिकामा ठेक्का लगाउन दिएका छैनन् ।
नगरपालिकाले कवाडीको ठेक्का लगाउन खोज्दा जिल्ला अदालत र उच्च अदालतबाट अन्तरिम आदेश ल्याएर सबै स्थानीय निकायलाई कर उठाउनबाट रोक लगाएका छन्।रास्वपाले जितेपछि सुशासन कायम होला,अदालतबाट यस्तो गैर कानुनी कर असुली गर्न पाउनु पर्ने रिटमा अन्तरिम आदेश नदिने अपेक्षा गरिएको छ।तर विगतमा जस्तै दैनिक रु ३० लाख गैर कानुनी रुपमा असुल्नका लागि रोशन र बाबुनन डा.सिंहको शरणमा पुगेका छन् ।
रोशन र बाबुननले मुद्धा ममिला गरेर अदालतलाई प्रभावमा पारी ललितपुर महानगरपालिका,नागार्जुन नगरपालिका,चन्द्रागिरी नगरपालिका,गोकर्णेश्वर, कागेश्वरी मनोहरा,शंकरापुरी र बुढानीलकण्ठ नगरपालिकाले कवाडीको ठेक्का लगाउन सकेका छैनन्।जसका कारण रोशनले धुनिबेसीमा बसेर काठमाडौैंका यी पालिकाबाट कवाडी संकलन गरी गएका गाडीबाट दैनिक रु ३० लाखका दरले उठाउने गरेका छन् ।
बाबुनन बिरुद्ध पक्राउ पूर्जी जारी,छ महिनासम्म पक्राउ परेनन्
बाबुनन र उनका छोरा रोशनले झुटा विवरण पेश गरी रौतहट र काठमाडौंबाट वंशजको आधारमा नागरिकता लिई विभिन्न कम्पनी दर्ता गरेकाले छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो।गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय रौतहटमा बाबुननको नागरिकताको विवरण सहितको फाइल २०८१ माघ ७ गते पठाएको भए पनि विभिन्न सञ्चार माध्यमबाट बारम्बार समाचार लेखेपछि गएको भदौमा पक्राउ पुर्जी जारी त भएको छ।तर पैसाकै बलमा बाबुनन पक्राउ पर्नबाट जोगिंदै आएका छन्।रौतहटबाट बाबुननले झुटा विवरण पेश गरी लिएको नागरिकताका आधारमा काठमाडौंबाट रोशन र उनका भाइ दिपु चौधरीले नागरिकता लिएका छन् । 
बाबुनन र रोशनले राजनीतिक दल,तिनका भातृ संगठनको आड र अदालतलाई प्रभावमा पारी नेपालमा गर्दैआएको यस्तो असुलीलाई रास्वपाको दुईतिहाईको  नजिकै पुगेको सरकारले रोक्ने अपेक्षा गरिए पनि उनीहरु आफ्नो ब्रम्हलुट कायम राख्न डा.सिंहको शरणमा पुगेका छन् ।
रोशन पनि गएको माघ २२ गते लागूऔषध कारोबारमा पक्राउ परेका थिए । आफनै व्यवसायिक साझेदार कुन्दन सिंहको घरमा लागूऔषध राख्न लगाएर फसाउन खोजेको सीसीटीभी फुटेजबाट देखिएपछि लागूऔषध नियन्त्रण ब्यूरोले रोशनलाई पक्राउ गरेको थियो।तर उच्च अदालतका न्यायाधीशले लागूऔषध कारोबार मुद्दामा उनलाई छाडेका प्रहरी स्रोतको दाबी छ ।

सम्बन्धित समाचार