यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ मा रु १२ करोड १७ लाख ९६ हजार छ सय ११ राजस्व संकलन गरेको छ।आर्थिक वर्ष २०८०/०८१ मंसिर १७ गते स्थापना भएको कार्यालयले २०८१ साउनदेखि २०८२ असारसम्मको एक वर्षको अवधिमा यातायात क्षेत्रको आम्दानी रु १२ लाख दुई हजार पाँच सय ३०,सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब सम्बन्धी दस्तुर रु तीन करोड ५२ लाख ४५ हजार पाँच सय ८५,सवारी साधन कर रु आठ करोड २९ लाख ९८ हजार ७१ र सवारी आयकर रु २३ लाख ५० हजार चार सय २५ गरी कुल रु १२ करोड १७ लाख ९६ हजार छ सय ११ राजस्व संकलन गरिएको यातायात व्यवस्था कार्यालय मलंगवा सर्लाहीका प्रमुख शशि यादवले जानकारी दिए ।
उनका अनुसार नविकरण तथा जरिवाना,नयाँ सवारीसाधन दर्ता,नामसारी,पटके कर र रुट परमिट लगायत शीर्षकबाट उक्त राजस्व संकलन भएको हो। कर्मचारीहरुको लगनसिल्ता र कार्यालयको व्यवस्थापकीय काममा सुधार भएसँगै सेवाग्राहीको काम छिटोछरितो रूपमा सम्पन्न गर्न सकिएको कारण राजस्व संकलनमा वृद्धि भएको हो । स्थायी सात जना र करारका सात जना गरी १४ जना कर्मचारीहरु रहेको कार्यालयले सरकारी,सार्वजनिक,भाडाका साथै निजी तर्फका ठूला,मझौला तथा साना सवारीसाधनको दर्ता, नविकरण तथा नामसारी गरिएको कार्यालयका सूचना अधिकारी छविन्द्र बहदुर योञ्जनले बताए ।उनका अनुसार कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहजता भएको बताइएको छ।गत आर्थिक वर्षमा मधेश प्रदेश सरकार अन्तर्गतको श्रम तथा यातायात मन्त्रालयले सवारी साधनमा लाग्ने कर तथा जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने व्यवस्था गरेको थियो।
मधेश प्रदेशको“सवारी तथा यातायात व्यवस्था ऐन, २०८१”अनुसार गत मंसिर १९ गते राजपत्रमा प्रकाशित सो व्यवस्थाले कर तथा जरिवाना छुटका साथै सवारी साधनको एकमुष्ट १५ वर्षको लागि नविकरण गर्न सकिने व्यवस्था गरेको छ।यसका लागि सवारी मूल्यको पाँच प्रतिशत शुल्क लाग्ने जनाइएको छ।
मधेश प्रदेशअन्तर्गतका आठ जिल्लामा यातायात कार्यालयहरू संचालनमा छन्।समीक्षा अवधिमा ती कार्यालयहरूको व्यवस्थापन तथा कानुनी समस्या र समाधानका विषयमा समेत छलफल भएको थियो।मधेश प्रदेश सरकारले जरिवानामा दिएको छुटप्रति आम नागरिकहरूले पनि सन्तोष व्यक्त गरेका छन्।
यता, गत आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले रु छ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा रु छ करोड ३६ लाख ५८ हजार ९१ राजस्व संकलन गरेको थियो । तुलनात्मक रुपमा गत आर्थिक वर्ष २०८०/०८१ मा भन्दा आर्थिक वर्ष २०८१/०८२ मा दोब्बरले राजश्व बृद्धि भएको छ ।