उखु बिक्री गरेको नौ महिनामा पनि सरकारी अनुदानको रकम नपाएको किसानहरुको गुनासो

512 Shares

 सर्लाहीका उखु उत्पादक किसानहरुले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनु पर्ने अनुदान वापतको रकम नपाएको गुनासो गरेका छन् ।जिल्लाका किसानहरुले उत्पादन गरेको उखु वेचेको करिब नौ महिना हुँदा समेत सरकारले दिनुपर्ने प्रति क्विन्टल रु ७० अनुदानको रकम अझैसम्म पनि नपाएको गुनासो गरेका हुन ।
उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफुहरु निकै मारमा परेको जिल्लाका उखु उत्पादक किसान रामवली महतोले गुनासो गरे ।उनका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल परेको छ ।
सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले रु पाँच सय ४० र सरकारले रु ७० गरी किसानहरुलाई रु छ सय १० भुक्तानी गर्ने सहमति भएको भएपनि हाल सम्म पनि सरकारले दिने भनिएको अनुदान वापतको रकम प्रति क्विन्टल रु ७० नपाएको अर्को किसान राम उदगार महतोले गुनासो गरे ।उनका अनुसार उद्योगले जिल्लाका उखु उत्पादक किसानहरुलाई रु पाँच सय ४० भुक्तानी गरिसक्दा पनि सरकारले अनुदान बापतको रकम भुक्तानी नगरेको हो ।
यता,समयमा चिनी उद्योगहरुले उखु बिक्री गरेको तथ्यांक सरकारलाई उपलब्ध नगराएकाले भुक्तानी ढिलो भएको र उखु बिक्री गरेको तथ्यांक पठाउन उद्योगलाई ताकेता गरिरहेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए । उनका अनुसार चिनी उद्योगहरुले उखु बिक्री गरेको तथ्यांक कृषि मन्त्रालयलाई पठाएपछि मात्रै अर्थ मन्त्रालयले अनुदानको रकम उखु उत्पादक किसानहरुलाई पठाउँने गरेकोछ ।चिनी उद्योग र सरकारको कमजोरीका कारण जिल्लाका उखु उत्पादक किसानहरुले दुःख पाएका उखु उत्पादक महासंघका अध्यक्ष  मैनालीले बताए ।
आफुहरुले सरकारले दिने अनुदानको रकम पठाउन सरकार र उद्योगहरुलाई दबाब दिइरहेको अध्यक्ष मैनालीले बताए ।उनले असोजको पहिलो हप्तासम्म उखु उत्पादक किसानहरुले भुक्तानी पाउने विश्वास लिएको बताए ।
सरकारले उखु उत्पादक किसानहरुलाई दिनुपर्ने अनुदान रकम समयमा नदिने र उद्योगहरुले पनि किसानहरुको लगानी अनुसारको मूल्यमा उखु खरिद नगर्ने गरेका कारण जिल्लामा पछिल्लो समय उखु खेतीप्रति किसानहरुको आकर्षण घट्दै गएको स्थानीय जानकार उमा शंकर साहले बताए ।उनका अनुसार उखु खेतीभन्दा अन्य बालीबाट राम्रोसँग फाइदा हुने भएकाले पनि जिल्लाका किसानहरुले उखु खेती लगाउन छाड्दै गएका हुन ।
धान,मकै,गहुँ र तोरी लगायतको उत्पादन खेतबाटै बिक्री हुन्छ । यही मूल्यमा उखु खेती गर्ने हो भने लागत मूल्य पनि उठ्दैन,दुई पैसा फाइदा नहुने भएपछि किन दुःख गर्नुप¥यो रु उखुको मूल्य प्रतिक्विन्टल रु आठ सय ५० भन्दा माथि भएमात्र लगानी उठ्ने किसानहरुको भनाई छ ।
जिल्लामा सञ्चालन भएका तीन वटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले सबै उखु उत्पादक किसानहरुको रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल बगदह र अन्नपूर्ण सुगर मिल धनकौलले अझै केही रकम भुक्तानी गर्न बाँकी रहेको छ । इन्दुशंकरले यस क्रसिङ सिजनमा २८ लाख क्विन्टल उखु खरिद गरेको थियो ।

सम्बन्धित समाचार