पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका–१२ कर्मैया चेकपोष्टबाट प्रहरीले ठुलो मात्रामा विल विजक नभएको मद्यिरा सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।पश्चिमबाट पुर्वतर्फ आउदै गरेको डिएल १० सिई ६१६० नम्बरको भारतिय कारलाई रोकि चेकजाँच गर्ने क्रममा शंका लागेपछि कार खनतलासी गर्दा उक्त कारको पछाडिको सिट मुनि फल्स बटन बनाई लुकाई छिपाई ल्याउँदै गरेको बिल विजक नभएको अन्दाजी रु १४ लाख ४४ हजार एक सय बराबरको विभिन्न ब्राण्डको मद्यिरा बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख एवम सई रोशन लामिछानेको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाचँ गर्ने क्रममा भोडका ८० बोतल,रोयल स्टेज ठुलो ८७ बोतल र रोयल स्टेज सानो एक सय ३० बोतल गरि अन्दाजी कुल १४ लाख ४४ हजार एक सय मद्यिराका साथै कारका चालक भारतको जिल्ला गौतम बुद्ध नगर बस्ने अन्दाजी बर्ष ४० का अनिल शर्मा, जिल्ला नजवगढ साउथ वेस्ट बस्ने अन्दाजी बर्ष २८ का मो सारुख अंसारी र जिल्ला सितामडी रेवासी बस्ने अन्दाजी वर्ष २१ को प्रबेन्द्र कुमारलाई कार सहित नियन्त्रणमा लिएको छ ।कार,मद्यिरा र मानिसहरुलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,भदौ १० गते बुधबार सोही ठाउँबाट अन्दाजी रु १३ लाख ५५ हजार बराबरको मद्यिरा सहित एउटा भारतिय कार र चार जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । डिएल २ सीएपी ०४१८ नम्बरको कारमा रेड बेल ५० बोतल,रोयल स्टेज २४ बोतल,एमसी डोयल्स ठूलो ३५ बोतलका साथै एमसी डोयल्स सानो ३९ बोतल गरी कुल एक सय ४८ बोतल मद्यिरा अन्दाजी रु १३ लाख ५५ हजार बराबरको नियन्त्रणमा लिएको प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेपछि कमलामाई मिडिया प्रा.लिले प्रहरीको भूमिका शंकास्पद भन्दै समाचार प्रकाशन गरेको थियो ।पछिल्लो समय पुर्व पश्चिम राजमार्गको प्रयोग गर्दै मद्दिराको कारोबार हुने गरेको सुचनाका आधारमा प्रहरीले देखाएको सक्रियताले लगातार ठुलो मात्रामा मद्यिरा बरामद् गरि राखेको छ ।