सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको म्याक्स हेल्थ केयर प्रा.लि.मा उपचार गर्दा लापर्वाही गरेका कारण एकजनाको मृत्यु भएको भन्दै पीडित पक्षले आक्रोस व्यक्त गरेका छन् ।लालबन्दी नगरपालिका १४ का अन्दाजी वर्ष २२ का बुद्ध लामालाई आईतबार दिउँसो करिब १२ बजे लालबन्दी नगरपालिका ७ स्थित रहेको म्याक्स हेल्थ केयर प्रा.लि.मा उपचार गर्न ल्याईएकोमा उपचारमा लापर्बाही गरेपछि लामाको मृत्यु भएको भन्दै पीडित पक्ष र स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
दिउँसो करिब १२ बजे अस्पतालमा ल्याईएका लामाको दिउँसो करिब ४ बजे अस्पतालले रेफर गरेपछि अन्यन्त्र उपचारका लागि लैजाँदै गर्दा रौतहटको चपुरमा पुगेपछि लामाको मृत्यु भएको पीडित पक्षले बताएका छन्।त्यसपछि शवलाई फर्काएर अस्पताल अगाडि शव राखी आफ्ना मान्छेलाई समयमै रेफर गरिएको भए आफन मान्छे बचाउन सकिन्थ्यो तर म्याक्स हेल्थ केयर प्रा.लि.ले लापर्बाही गरि ढिलो रेफर गरेका कारण आफ्नो मान्छेको मृत्यु भएको भन्दै पीडित पक्ष र स्थानीयले आक्रोस व्यक्त गरेका हुन ।
म्याक्स हेल्थ केयर प्रा.लि.ले रिपोर्ट निकाल्नै करिब ४ घण्टा लगाएका कारण आफ्ना मान्छेलाई सुविधा सम्पन्न अस्पतालमा लैजान नपाएको र मृत्यु भएको पीडित परिवारको गुनासो छ।पीडित परिवार र स्थानीयले शवलाई अस्पताल अगाडि राखेर लालबन्दीका निजी स्वास्थ्य संस्थाहरुको चरम लापर्बाहीको विरोध गरेका छन्।भने कुनै अप्रिय घटना नहोस भन्नका लागि ठूलो मात्रामा प्रहरी परिचालन भएका छन् ।