राज्यले उखु उत्पादक किसानहरुलाई दिनुपर्ने अनुदान वापतको रकम अन्यौलमा परेपछि पछिल्लो समय उखु खेती गर्ने किसानहरुको संख्या घट्न थालेको छ।उखुको मूल्य नबढ्नु,समयमा भुक्तानी नपाउनु र राज्य दिने भनेको अनुदान वापतको रकम पनि दिने वा नदिने भन्ने अन्यौलता सृजना भएपछि सर्लाहीमा उखु खेती गर्ने किसानहरुको संख्या घट्न थालेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।उनका अनुसार सरकारले उपलब्ध गराउने भनेको अनुदान समेत समयमा नपाएपछि किसानहरूले उखु खेती मासेर अरू खेती लगाउन थालेका हुन ।
सर्लाहीमा उत्पादन भएको उखु हरिवनको इन्दुशंकर चिनी उद्योग, धनकौलको अन्नपूर्ण सुगर मिल र बगदहको महालक्ष्मी सुगर मिलले क्रसिङ गर्दै आएका छन् । केही वर्षदेखि उखु खेती घट्दै गएकाले चिनी कारखानाहरू क्रसिङ सिजनमै बन्द हुने गरेका छन् । त्यसैगरी, हरिवनको इन्दुशंकर चिनी उद्योगले ३० लाख ५२ हजार क्विन्टल, बगदहको महालक्ष्मी सुगर मिलले १३ लाख ८० हजार क्विन्टल र धनकौैलको अन्नपूर्ण सुगर मिलले नौ लाख क्विन्टल उखु क्रसिङ गरेर माघको पहिलो साता नै उद्योगहरु बन्द भए।पछिल्लो समय उखु उत्पादन घट्दै गएका कारण जिल्लाका उद्योगहरुको क्षमताको करिब ७० प्रतिशत मात्रै उखु क्रसिङ हुने गरेको इन्दुशंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए ।
सरकारले दिँदै आएको उखुको अनुदान प्रतिक्विन्टल रु ७० बाट घटेर यस वर्ष रु ३५ मा झरेपछि उखु उत्पादक किसानहरु घटेका उखु उत्पादक किसानका अगुवा राज कुमार उप्रेतीले बताए ।उनका अनुसार उद्योग र सरकारले समयमै किसानलाई उखु खेतीप्रति आकर्षित गर्न नसके धेरै किसानले उखु खेती छाड्ने छन् ।
यता,सरकारले दिँदै आएको अनुदान वापतको रकम रु ७० बाट घटाएर यस वर्षदेखि रु ३५ प्रति क्विन्टल दिने भनेपछि देशभरका उखु उत्पादक किसानहरु आन्दोलीत भएका छन् । विगत करिब १७÷१८ वषृदेखि दिँदै आएको अनुदान वापतको रकम विभिन्न वाहना बनाएर सरकारले कटौती गर्न थालेपछि उखु उत्पादक किसानहरु चरण्वद्ध आन्दोलनमा उत्रिएका छन् ।उनीहरुले सरकारलाई अनुदान वापतको रु ७० प्रति क्विन्टल साउन महिना भित्रै भुक्तानी गरि सक्न समय सिमा निर्धारण गरेका छन् भने आफुहरुको माग साउनमा सम्बोधन नभए संघीय राजधानी काठमाण्डौँमा गएर आन्दोलन गर्ने उखु उत्पादक किसानहरुले चेतावनी दिएका छन् ।