Close This

असारमा मात्र २० करोड बढीको तरकारी निकासी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-६ गते   ३७३ पटक हेरिएको

कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले आर्थिक वर्ष २०७८/०७९ को अन्तीम महिना असारमा करिब रु २०  करोडको तरकारी निकासी गरेको छ ।लालबन्दी नगरपालिका ७ स्थित रहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले आर्थिक वर्ष २०७८/०७९ को अन्तीम महिना असारमा करिब रु २०  करोड २३ लाख १७ हजार ५ सयको तरकारी निकासी गरेको हो।
असार महिनामा लालबन्दीबाट सबैभन्दा धेरै हरियो बोडी मात्रै रु ६ करोड ५३ लाख ७ सय ५० को निकासी भएको छ। बोडीपछि परवल रु ४ करोड ६९ लाख ४८ हजार ७ सय ५० को निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । असार महिना  बोडी र परवलको सिजन भएकाले पनि यी तरकारीहरु बढी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार रु १ करोड ६२ लाख ५३ हजार ७ सय ५० को लौका,रु १ करोड २ लाख ७९ हजारको हरियो खुर्सानी, रु ७० लाख ९४ हजार २ सय ५० को गोलभेँडा, रु ३६ लाख ३२ हजार ७ सय ५० को घिरौँलासहित अन्य तरकारी निकासी भएको छ। 
विशेषगरी जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेका टमाटर,परवर,बोडी,सिमी,भाण्टा,करेलालगायतका तरकारी लालबन्दीको तरकारी बजारमा आउने गरेको छ । देशका सिन्धुली,रामेछाप,काठमाडौँ,पोखरा,बुटवल, भैरहवा,नारायणगढ,नेपालगञ्ज,हेटौँडा,वीरगञ्ज,गौर,जनकपुर,सिरहा,विराटनगर,इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech