शिक्षा र स्वास्थ्यको सवालमा हरिवनमा सर्लाहीका छ नगर प्रमुखको बैठक

183 Shares

सर्लाहीको हरिवन नगरपालिकामा सर्लाहीका विभिन्न छ वटा नगरपालिकाका नगर प्रमुखहरु विच समसामयिक विषयमा छलफल भएको छ।हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को अध्यक्षतामा सम्पन्न बैठकमा लालबन्दी, ईश्वरपुर, हरिपुर, बागमती र बरहथवा नगरपालिकाका नगर प्रमुखहरू सहभागी भएका थिए ।
बैठकमा शिक्षण संस्था सञ्चालन,स्वास्थ्य संस्था सञ्चालन तथा सरकारी एवम सार्वजनिक जग्गा अतिक्रमण सम्बन्धी विषयमा विशेष छलफल गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए।उनका अनुसार छलफलपछि शिक्षा क्षेत्रतर्फ विद्यालयमा गुणस्तर कायम राख्दै पठनपाठन नियमित गर्न सार्वजनिक बिदा सम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालिएको छ।यसका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी, स्वास्थ्य संस्थाको हकमा सार्वजनिक बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन हुने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड छलफलले दिएको छ।स्वास्थ्य सेवा प्रभावकारी बनाउन बिदा व्यवस्थापनमा सुधार गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले बताए ।
यस्तै,सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको विषयमा हालै सरकारले जारी गरेको सय बुँदे सुधार कार्यसूची अनुसार भूमिहीन दलित,भूस्मिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उचित व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गर्ने निर्णय गरिएको बागमती नगरपालिकाका कार्य वाहक नगर प्रमुख कृष्ण कुमार लामाले बताए ।उनका अनुसार बैठकले यी विषयमा प्रदेश सरकारसँग समेत सहकार्य गर्दै आवश्यक पहल अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार