श्रेष्ठ सत्ता–स्वादमा मग्न हुँदा युद्ध लडेका माओवादीहरु विक्षिप्त

346 Shares

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ(प्रकाश)माथि पार्टीभित्र गम्भीर नैतिकताको विषय उठाएर उनीमाथि प्रहार गर्न थालिएको छ ।श्रेष्ठ पदका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने गरेको भन्दै चुलिएको आक्रोशमा माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)भने नाजवाफ बन्न थालेका छन् ।

के श्रेष्ठमाथिका यस्ता प्रश्न सहि हुन त ?

नेता श्रेष्ठ माओवादी केन्द्र विभाजनका केहि कारणमा मानिन्छन। श्रेष्ठसँग माओवादीले शान्ति प्रक्रियापछि पार्टी एकता गरेको थियो । युद्ध लडेकाहरुले उनीसहितको टिमले पार्टीलाई फाइदा पुर्याउने भन्दा पनि स्वार्थसहित पार्टीलाई संसदीय भासमा फसाउने काम गरेको भन्दै पार्टी विभाजन गर्नेहरुले यसलाई पनि एक कारक तत्वको रुपमा अघि सार्ने गरेका छन् ।

तर,श्रेष्ठले माओवादी केन्द्र भित्र आफ्नो गुटलाई चुस्त पार्दै लाभका पदमा बाजी भने मज्जाले मार्दै आएका देखिन्छन् । माओवादी केन्द्रकाे संसदीय दलको बैठकमा अनौठो संयोग जुर्यो, जहाँ श्रेष्ठ माथि नैतिकता र मापदण्डको प्रश्न उठाइयो । सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सांसद माधव सापकोटा ’सुवोध’ले श्रेष्ठ अस्वभाविक ढंगले मन्त्री बनेको,पटक–पटक उनैलाई मन्त्री चाहिने लगायतका विषय उठाएर प्रश्न गरे ।

पार्टीले मन्त्री छान्ने विधि नै नपछ्याएको र श्रेष्ठले घुर्की,धम्की देखाएर मन्त्री बन्ने काम गरेको भन्दै प्रश्न उठेपछि केहिबेर भनाभनको स्थिति नै बन्यो । दलको बैठकमा श्रेष्ठले मन्त्री बन्दा नैतिकता समेत नदेखाएको प्रश्न समेत उठ्यो । जुन भए पनि मन्त्रालय रोजिहाल्ने सत्तामा गइहाल्ने किन भन्दै अध्यक्ष एवम प्रधानमन्त्री प्रचण्डमाथि नै प्रश्न गरियो । जसकारण श्रेष्ठले प्रतिवाद नै गर्ने स्थिति बन्यो । जनयुद्ध कसले लड्यो,कसले लडेन भन्ने विषय उठाएर आफूमाथि प्रहार गर्न खोजिएको दाबी गरेका उनले आलटाले जवाफ पेश गरेपनि सबैको चित्त बुझ्ने गरि बोल्नै नसकेको बताइन्छ ।

श्रेष्ठका गतिविधि

१. तत्कालीन समयमा वाम गठबन्धनको तर्फबाट २०७४ को निर्वाचनमा उनी गोरखाबाट डा.बाबुराम भट्टराईसँग पराजित बने । निर्वाचनमा पराजित बनेपछि सत्ताको स्वाद चाख्नबाट बञ्चित बनेका उनले आफ्नो गुटका नेता गिरिराजमणि पोखरेललाई शिक्षा मन्त्रीको रुपमा पठाए । सत्ताबाट विमुख बनेपछि छटपटीमा रहेका उनी फेरि राष्ट्रिय सभामा छिरे ।राष्ट्रियसभामा छिर्दा उनीमाथि निर्वाचनमा भोगेको पराजय कुर्नै नसकेको भन्दै नैतिकताको प्रश्न गरियो ।

२.नेकपा विभाजनपछि माओवादी केन्द्र कांग्रेससंग साँठगाँठ गरि कांग्रेस सभापतिशेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी बन्यो । त्यो बेला समेत श्रेष्ठले आफू निकट शशी श्रेष्ठलाई मन्त्री बनाएर माओवादी केन्द्रकाे कोटामा आफ्नो गुटको भागबण्डालाई यथावत् राखिदिए । त्यो बेला मन्त्री बन्ने कोटा अन्य सांसदकै परेपनि उनकै दबाबमा सपथ लिन ठिक्क परेकी एक सांसदको सिंहदरबार यात्रा रोकिएको थियो ।

३.कांग्रेस–माओवादीसहितको गठबन्धनपछि प्रचण्ड नेतृत्वको सरकार बन्ने बेला प्रचण्डले नेकपा(एमाले) रोजे । एमालेसहितको सरकार बन्दा श्रेष्ठलाई भौतिक पुर्वाधार मन्त्रालय पर्यो । त्यसपछि उनले लामो समय असन्तुष्टी देखाएर मन्त्रालय नै गएनन् । त्यो बेला उनले विभिन्न अड्को थापेका थिए । रोजेको मन्त्रालय नपाएकोदेखि वरियताको विषय समेत उठाए तर,केहि सीप नलागेपछि उनी मन्त्रालय फर्किएका थिए ।

४.प्रचण्डले गठबन्धन फेर्दै फेरि कांग्रेससँग पुगेपछि उनै श्रेष्ठ फेरि गृह मन्त्रीको रुपमा सिंहदरबार छिरे । त्यो बेला गृहमा जान उनले ठूलो शक्ति नै लगाएको माओवादी केन्द्रका नेताहरुकाे भनाइ छ । गृह नपाए जे पनि हुने धम्की र घुर्की नै दिएको माओवादी केन्द्रका नेताहरुले आरोप लगाउने गरेका छन् । गृहमा पुगेपछि उनले प्रचण्डलाई समेत क्रस गर्न खोज्नेदेखि धेरै विषयलाई तलमाथि पार्न खोजेको बताइन्छ ।

५. प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई फेरि एमालेसहितका दलसँग लगेर मिसाएका छन् । यो बेला माओवादी केन्द्रबाट मन्त्री बन्ने नयाँ पात्र र व्यक्तिको नाम अघि सारिएको थियो तर,उनै श्रेष्ठले आफ्नो गुटको रक्षार्थ भन्दै आफै परराष्ट्रमै भएपनि जाने भन्दै कुर्लिए । परराष्ट्रमा एमालेका रघुवीर महासेठ भन्दा मूनीको वरियतामा भएपनि मन्त्री बन्न गएपछि माओवादी केन्द्रमा हंगामा मच्चिएको छ । स्मरणयोग्य विषय के छ भने,श्रेष्ठ तत्कालीन नेकपाको सचिवालय सदस्य हुँदा महासेठ जुनिएर नेता थिए तर,उनले यस्तो विषयलाई पदसँग साटिदिएको आरोप माओवादी केन्द्रमा छ ।

श्रेष्ठले माओवादी केन्द्रभित्र आफ्नो गुट बचाइराखेका छन् । माओवादी युद्ध लडेकाहरु तितरबितर बनेपछि उनी थप तंग्रिएका छन् । माओवादीको हरेक सरकार सहभागितामा उनले आफ्ना गुटका नेता र आफूलाई भाग बण्डामा पारिहाल्छन् । यसले पनि माओवादीभित्र असन्तुष्टी तीब्र बनिरहेको छ ।

अझ,उनलाई रोक्नकै लागि प्रचण्डले वरियतामा महासेठलाई अघि सार्ने विषयमा सहमति जनाएको समेत बताइन्छ,तर,सत्ताको स्वाद चाख्न पल्किसकेका श्रेष्ठ सरकार बाहिर बस्न सकेनन् र गृहबाट निकालिएपछि परराष्ट्र मन्त्रालय पुगेका छन् ।

सम्बन्धित समाचार