सर्वोच्च अदालतले बस्ती,वनजंगल,राजमार्ग र खोलानजिक क्रसर उद्योग चलाउन पाउने गरी सरकारले २०७८ मा गरेको मापदण्ड संशोधन खारेज गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको सोमबारको इजलासले गिट्टी,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७ को पहिलो संशोधन २०७९ बदर गर्दै पुरानै मापदण्ड लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो।
मन्त्रिपरिषद्को २०७९ जेठ ६ गतेको बैठकले क्रसर एद्योगलाई बस्ती,शिक्षण संस्था,नदी किनार, वन र राजमार्गबाट अझ नजिक पुग्ने बाटो खोलि दिएको थियो। क्रसर उद्योग सञ्चालन गर्दा पालना गर्नुपर्ने दूरीसम्बन्धी मापदण्ड सबै भौगोलिक क्षेत्रमा एउटै रहेकामा पहाड र तराईलाई छुट्याएर अलग–अलग कायम गरिएको थियो।क्रसर एद्योगले गरिरहेको अवैध दोहनलाई झनै सहज हुने गरी मापदण्ड संशोधन भएको भन्दै वातावरण कानुनविद् अधिवक्ता पदम श्रेष्ठ,राजु फुँयाल र राकेशकुमार शाहले संशोधित मापदण्ड बदरको माग गर्दै २०७९ असार ६ मा सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चले वैज्ञानिक कारण विना जथाभावी रूपमा मापदण्ड संशोधन नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि २०७९ असार ८ मा संशोधित मापदण्ड लागू नगर्न अन्तरिम आदेश जारी गरेकामा हाल आएर बदर नै गरिदिएको हो।
सर्वोच्चले के के गर्यो बदर ?
क्रसर उद्योग चलाउन तथा ढुंगा,गिटी,बालुवा उत्खनन् गर्ने सम्बन्धीका संशोधित मापदण्डका बुँदाहरू बदर भएका हुन्।सरकारले संशोधन गरेर पहाडमा क्रसर उद्योग राजमार्गको “राइट अफ वे”र खोला वा नदी–किनारबाट दुई सय मिटर कायम गरेको थियो,जुन खारेज भएको छ। अब साबिककै व्यवस्था अर्थात् तराई र पहाड दुवै क्षेत्रमा राजमार्ग र खोला वा नदीबाट क्रसर पाँच सय मिटर टाढा हुनुपर्ने व्यवस्था लागू हुनेछ।
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ।सो मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट पाँच सय मिटर,खोला वा नदी किनारवाट पाँच सय मिटर,शिक्षण संस्था, स्वास्थ संस्था,धार्मिक,सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई मिलोमिटर,पक्की पुलबाट पाँच सय मिटर,अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमिटर,वन,निकुञ्ज तथा आरक्षबाट दुई मिलोमिटर,घना बस्तीबाट दुई किलोमिटर,हाइटेन्सन लाइनवाट दुई सय मिटर,ऐतिहासिक ताल,तलैया,जलाशय र पोखरीबाट पाँच सय मिटर,चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर दूरीको मापदण्ड कायम गरेको छ ।
स्थानीय तहले नदीजन्य पदार्थको संकलन,उत्खनन र बिक्री गर्दा घना बस्ती र वनक्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरीभित्रको नदीमा निर्माण सामग्री उत्खनन र संकलन गर्न नपाउने भएपनि देशैभरीका नदी तथा खोलाहरुमा कुनैपनि मापदण्डको पालना भएको छैन् ।