पाँच महिनादेखि तलब नपाएपछि बसबरियाका कर्मचारी आन्दोलित

250 Shares

सर्लाहीको बसबरिया गाउँपालिकाका शिक्षक,कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।विगत साउनदेखि तलब माग गर्दै उनीहरु बुधबारदेखि गाउँपालिका कार्यालयमा अनिश्चितकालिन धर्नामा बसेका हुन्।कर्मचारीहरु विचको विवादका कारण बसबरिया गाउँपालिकामा चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट अहिलेसम्म पारित हुन सकेको छैन् ।गएको असारमा नै गाउँसभाको उद्घाटन सत्र भएपनि बजेट बाँडफाँडसम्वन्धी निर्णय गर्न बन्द सत्रमा सहमती जुट्न नसक्दा बसबरिया गाउँपालिकाले हाल सम्मपनि चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन नसकेको पाइएको छ ।
बजेट पारित गराउन जनप्रतिनिधिबिच निरन्तर समन्वय गरिरहे पनि सहमती जुट्न नसकेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाले बताए ।गत भदौमा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले गाउँसभाको बन्द सत्र गरेर बजेट पारित गर्ने प्रयास गरेका भएपनि उपाध्यक्ष सरिता कुमारी गाउँपालिका अध्यक्ष रायविरुद्ध उच्च अदालत जनकपुरमा निवेदन लिएर गएपछि गाउँपालिका झन अनिर्णयको वन्दी बनेको जनप्रतिनिधिहरुले बताएका छन् ।
उच्च अदालत जनकपुरले गाउँपालिका उपाध्यक्ष सरिताको सहभागिता बिना बजेट,योजना र राजस्व प्रस्ताव सम्वन्धी कार्य नगर्न आदेश दिएको थियो।अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्म कुनै पनि निर्णय वा कार्य नगर्नु भनी आदेश दिएपछि आफूले केही गर्ने नसकेको गाउँपालिका अध्यक्ष रायले गुनासो गरे ।आफूसँग गाउँ कार्यपालिकामा स्पष्ट बहुमत भए पनि बहुमतको आधारमा बजेट पारित गर्ने मनस्थितिमा नरहेको उनले बताए ।गाउँपालिका उपाध्यक्ष सरितालाई सहमतीमा ल्याउन आफू र निमित्त प्रमुख प्रशासकीय अधिकृत थापाले निकै प्रयास गरे पनि उपाध्यक्ष सरिता अरुको इसारामा हिँडिरहेकाले समस्या परेको अध्यक्ष रायको आरोप छ ।
संविधानले दिएको काम,कर्तव्य र अधिकारीसमेत आफूलाई प्रदान नगरिएको उपाध्यक्ष सरिताले गुनासो गरिन्।गाउँपालिका उपाध्यक्ष सरिताले दायर गरेको मुद्दामा पुस २२ गते पेशी तोकिएको छ ।जसका कारण शिक्षक,कर्मचारी र स्वास्थ्यकर्मीहरुले साउनदेखि तलब भक्ता खान पाएका छैनन् भने लाभग्राहीहरुले पाउने सामाजिक सुरक्षा भत्ता अन्यौलमा परेको छ ।विकास निर्माणका कामहरु ठप्प भएका छन्।

सम्बन्धित समाचार