दुधौरा पुल निर्माण कार्य सुस्त,जोखिम मोलेर सवारी साधनहरु आवत जावत गर्न बाध्य

एसपि गौरव    प्रकाशित: २०८०-५-५ गते   ६५८ पटक हेरिएको

सरोकारवाला निकायको वेवास्थाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डस्थित दुधौरा नदीमा निर्माणाधीन दुधौरा पुल निर्माण कार्य सुस्त हुँदा यातायात व्यावसायीहरु मारमा परेका छन् ।दुधौरा नदीमा पुल निर्माण सुरु भएको करिब पाँच वर्ष हुँनै लाग्दा पनि पुल विभाग र ठेकेदार कम्पनीको वेवास्थाका कारण पुल निर्माण कार्य सुस्त हुँदा यातायात व्यावसायीहरु जोखिम मोलेरै डाइभर्सनबाट सवारी साधनहरु सञ्चालन गर्न बाध्य भएका हुन् ।
पुल विभाग काठमाडौं र ठेकेदार कम्पनी महादेव खिम्ती,हिराचन जेभीको चरम लापरवाहीका कारण पुल निर्माणको काम निकै सुस्त हुँदा लामो तथा छोटो दुरीमा सञ्चालन हुने मालवाहक तथा यात्रु बाहक सवारी साधनहरु ठूलाठूला खाल्डा भएको डाईभर्सनबाट सवारी साधनहरु जोखिम मोलेर जबरजस्ती सञ्चालन गर्न बाध्य भएका छन् । पुल निर्माणका लागि करीब दुई सय मिटर लम्बाइको डाइभर्सनमा ठूलाठूला खाल्डा परेको छन् भने सरोकारवाला निकाय पुल विभाग र ठेकेदार कम्पनी महादेव खिम्ती÷हिराचन जेभी रमिते बनेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका सडकखण्ड मालवाहक तथा यात्रु वाहक सवारीसाधन आवतजावतका लागि लाइफ लाइन भएपनि यही सडक भएर देशकै कुनाकुनामा मालवाहक र यात्रु वाहक सवारी साधनहरू सञ्चालन हुन्छन् । तर यही राजमार्गको सडकखण्डमा निर्माण शुरू गरिएका पुल,सडकहरू वर्षौंसम्म अलपत्र रहन्छन् ।जसमा अर्काे सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय बारा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेस प्रदेशपनि  मौन छ ।दैनिक हजारौँ सवारीसाधन आवत जावत गर्ने राजमार्गको दुधौरा नदीमा अस्थायी पुल बेलिब्रिज बनाईएको भएपनि दुवैतर्फ साँघुरो र खाल्डाखुल्डी भएका कारण आफुहरु निकै मारमा परेको यातायात व्यावसायीहरुको भनाई छ ।
पुल निर्माणको काम करिब पाँच वर्षमा ५० प्रतिशत मात्रै भएको छ,भने सूचना बोर्डमा कहिलेबाट निर्माण सुरु गर्ने र कहिले निर्माण सम्पन्न गर्ने भन्ने उल्लेख गरिएको छैन् ।तर ठेक्का सम्झौता अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सो पुल तोकिएकै समयसीमा भित्र निर्माण सम्पन्न त भएन, भएन तोकिएको समय सकिँदा पनि करिब आधामात्र काम भएको छ ।
पुल निर्माण कै चरणमा गुणस्तरहिन काम भएका कारण सुरु मै पुलको पिलर भासिएको थियो । पछि त्यसलाई भत्काइ रेक्ट्रोफिटिङ गरियो तर पनि पिलर जमीनमुनि भासिन छोडेन् । दुईपटक पुलको पिलर भासिएपछि  पुन नयाँ काम थालिएको पनि पाँच वर्ष हुँनै लाग्यो ।तरपनि निर्माण कार्यमा वेवास्था हुने ठेकेदारी प्रथाले अझै छोडेन ।
लामोे समयसम्म पुल निर्माणको काम बेवारिसे बन्दा एम्बुलेन्स,मोटरसाइकल,जीप,कारलगायत अन्य साना तथा ठूला सवारी साधनहरुले कठिनाइ भोग्दै आइरहेका सवारी चालक मुन्ना साहले बताए । खाल्डाखुल्डी पनि पुर्दैनन् ।अहिले निकै ठूला ठूला खाल्डाखुल्डी छन् ।ट्राफिक प्रहरी र प्रहरी प्रशासनले देखेका छैनन् र ?ठेकेदारले पुर्ने हो कि सडक विभागले गर्नुपर्ने हो ।यसतर्फ कसैको ध्यान जाँदैन अधिकांश साना तथा ठूला सवारी चालकहरू आक्रोशित हँुदै भन्छन् ।
डाइभर्सनका कारण सबैभन्दा बढी ज्यानको जोखिम एम्बुलेन्समा लिएर जाने बिरामीहरूलाई हुने गरेको एम्बुलेन्स चालक रमेश कार्कीले बताए ।ठूला गम्भीर प्रकृतिका बिरामी,प्रसव पीडाका बिरामीलगायत अन्य बिरामी दैनिक ८–१० वटा एम्बुलेन्स यस जोखिमपूर्ण डाइभर्सन छिचोल्दै वीरगंज,हेटौंडा,चितवन,काठमाडौंका अस्पतालमा जाने गर्छन् ।बर्दिबास,लालबन्दी,हरिवन,रौतहट र निजगढका विभिन्न ठाउँबाट बिरामीहरू लिएर आउँदा सहज भएपनि यो करिब दुईसय मिटर लम्बाइको डाइभर्सन दुई सय किलोमिटरको जस्तो हुने एम्बुलेन्स चालक कार्कीले बताए ।
दुर्घटनाका घाइते,प्रसूति पीडालगायतका गम्भीर प्रकृतिका बिरामीलाई सडक र डाइभर्सन खराब हुँदा समयमैं अस्पताल पु–याउन ढिला हुने निजगढका एम्बुलेन्स चालक वीरबहादुर लोप्चनले बताए ।
पुल तोकिएको समयभित्र नबन्दा दैनिक सयौं सवारीसाधन र हजारौं यात्रुले सास्ती खेप्नुपरि रहनु परेको सवारी चालकहरुको गुनासो छ ।वर्षामा डाइभर्सनमा खाल्डाखुल्डी भएपनि त्यसलाई पुर्न र सम्याउने विषयमा सडक विभाग,पुल विभाग तथा ठेकेदार कम्पनी महादेव खिम्ती,हिराचन जेभी वेखरबर छन् ।भने डाइभर्सनका खाल्डाखुल्डी मर्मत नगर्दा अटो,कार,जीप लगायतका साना सवारी साधनहरु ठोक्किएर क्षति पुग्ने गरेका छन् ।
सो पुल निर्माणका लागि खोलिएको लगभग दुई सय मिटरको डाइभर्सन कहालीलाग्दो हुने गरेको आवतजावत गर्ने अधिकांश चालकको भनाइ छ ।अघिल्लो समय पनि महीनौंसम्म डाइभर्सनका ठूला खाडलहरूको मर्मत सम्भार र जमीनको सतहलाई नसम्याउँदा मोटरसाइकल,जीप, कार लगायतका साना र होचा सवारीसाधनहरू खाल्डोमा परी दुर्घटना भई क्षति हुने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
यता डाइभर्सनका खाल्डाखुल्डी पुर्न,सम्याउन लगाउने काम सडक कार्यालयकोे नभई पुल विभाग काठमाडौं र ठेकेदार कम्पनी महादेव खिम्ती,हिराचन जेभीको भएको सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राजेश यादवले प्रतिक्रिया दिए ।निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी महादेव खिम्ती,हिराचन जेभीका प्रतिनिधि एवम नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह आफैँ नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष समेत रहेका कारण निर्माण कार्य सुस्त भएको यातायात व्यावसायीहरुको भनाई छ ।
निर्माणधीन दुधौरा पुल डाइभर्सनका खाल्डाखुल्डी पुर्न आफूले बारम्बार आग्रह गरे पनि ठेकेदार कम्पनी महादेव खिम्ती,हिराचन जेभीका प्रतिनिधि नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष सिंहले बेवास्ता गर्ने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय पथलैया मधेस प्रदेशका ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले बताए ।
बाढीले निर्माणाधीन पुलका सामानहरू बगाइ र बालुवाले पुरेर लाखौं रकमको क्षति पु¥याएकोले सो सामानहरूको इन्स्योरेन्समा क्षति दाबी गर्नका लागि सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयले पत्र नबनाइ दिएकोले इन्स्योरेन्स रकम नआउने भएकोले उक्त डाइभर्सनका खाल्डाखुल्डी ठेकेदार कम्पनीले पुर्न अटेर गरेको पुल निर्माण ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी,काठमाडौंका इन्जिनीयर अजयकुमार झाको भनाई छ ।
उनका अनुसार बाढीले बेलिब्रिजलाई सुरक्षाका लागि लगाइएका तारजालीका स्परहरूसमेत बगाएको र क्षति पुर्याएकोले पनि बेलिब्रिज असुरक्षित अवस्थामा रहेको छ ।हिउँदमा सो डाइभर्सनमा धूलो नउडोस् भन्नाका लागि पानी पटाउने गरे पनि त्यस कार्यले निरन्तरता पाएको छैन । लामो दुरी यात्रा पार गरेर आउने सवारी चालक अनि यात्रुहरूसमेत यति छोटो डाइभर्सनको खाल्डाखुल्डी र उडेका धूलोले हैरान हुने गरेका छन् ।
पुल निर्माणको काम रु १५ करोड १२ लाखमा सकार गरेको ठेकेदार कम्पनीले निर्माण सथलमा राखेको सूचना बोर्डमा निर्माण सुरु मिति तथा सम्पन्न मिति र ठेकेदार वा प्रतिनिधिको सम्पर्क नम्बर समेत राखेको छैन् । जसले गर्दा ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी,काठमाडौँको बेवास्ता बढेको देखिन्छ ।
दुई स्पानको ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्नका लागि निर्मााण् कम्पनी महादेव खिम्ती हीराचन जेभी,काठमाडौँले रु १५ करोड १२ लाख भ्याट बाहेकमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ ।साबिक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्य अघि बढिरहेकाले पुरानो पुललाई पूर्णरूपमा भत्काइ नयाँ पुलको डिजाइनपछि निर्माणका लागि ठेक्का सम्झौता भएको पुल विभाग महाशाखाले जनाएको छ ।
पुर्व पश्चीम राजमार्ग निर्माणका बेला तत्कालीन सोभियत संघले चार दशकअघि निर्माण गरेको दुई लेनको पुल अब चार लेनको हुने छ । सो पुल निर्माण गर्ने ठेकेदारको आग्रहलाई ध्यानमा राख्दै पुल महाशाखा विभागले उक्त कार्य २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद थप गरिदिएपछि कामले गति लिन थालेको थियो तर सो समयावधि पनि पुरा भएको छ तर काम पहिलैकै अवस्थामा रहेको छ ।
वर्षामा सवारीसाधन आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले दुधौरा खोलाको निर्माणाधीन पुलको दक्षिणतर्फ बेलिब्रिज सञ्चालनमा ल्याउने गरिएको छ । बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०–६० टनभन्दा बढी भारवाहन क्षमता भएका मालवाहक सवारी साधनहरु ओहोरदोहोर गर्ने गरेका कारण सो ब्रिजसमेत कमजोर बन्दै गइरहेको छ । बेलिब्रिजको क्षमता भन्दा दोब्बर बढीको सामान लोड गाडी बेलिब्रिजबाट आवागमन हुने गरेका कारण उच्च जोखिममा रहेको भएपनि बाध्यता रहेको सवारीचालकहरू बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech