फरार अपराधीसँग लाखौं असुलिएको भिडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाको निदहराम भएको छ।विभिन्न सञ्चार माध्यामहरुमा लाखौं असुलिएको भिडियो बाहिरिएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले वरिष्ठ सई विश्वनाथ त्रिपाठीलाई जिम्मेवारीबाट हटाएको छ तर पैसा उठाउन पठाउने प्रहरी उपरिक्षक खतिवडालाई आश्रय दिएर छानविनमा आलटाल गरिरहेको छ ।
प्रहरी उपरिक्षक खतिवडाले आफ्ना वरिष्ठ सई त्रिपाठीमार्फत एकै व्यक्तिसँग रु १० लाख घुस लिएका छन्।जसमध्ये रु चार लाख घुस लिएको भिडियो विभिन्न सञ्चार माध्यामहरुमा प्रसारण भएका छन्।कोशी ब्यारेजका बुधन मण्डलसँग वरिष्ठ सई त्रिपाठीले घुस रकम लिएका भिडियोमा देखिएको छ ।मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले वरिष्ठ सई त्रिपाठीलाई जिम्मेवारीबाट हटाएको छ तर पैसा लिएको भिडियो नै बाहिरिदा पनि प्रहरी उपरिक्षक खतिवडालाई निलम्बन समेत गरिएको छैन।मधेश प्रदेशका जिल्लाहरुमा प्रहरी संगठनको आचरण विपरित सादा पोशाकमा प्रहरी खटाएर असुली मच्याएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम प्रहरी नायव महानिरीक्षक(डीआईजी)उमा प्रसाद चर्तुेवदीमाथि समेत प्रश्न उठेको छ ।
प्रहरी उपरिक्षक खतिवडामाथि त छानविन नै हुन सकेको छैन।वरिष्ठ सईलाई सामान्य कारबाही गरेर एसपीलाई जोगाउन चलखेल भएपछि यो असुलीको नेटवर्क गृह मन्त्रालयसम्मै त पुगेको छैन भन्ने प्रश्न उठेको भएपनि प्रहरी नायव महानिरीक्षक(डीआईजी)चर्तुेवदीले क्राईम ब्रान्च हेर्ने तथा कार्यरत एक ठाउँमा देखाएर सादा पोशाकमा प्रहरी कर्मचारीहरु परिचालन गरी मधेशमा असुलीको अड्डा जमाएका पाइएको छ ।
घुस असुलीको यो एउटा प्रतिनिधि घटना मात्र भएपनि मधेशका सबै जिल्लाका भारतसंग जोडिएका नाकाहरुबाट प्रहरी कर्मचारीहरुको मिलेमतोमा ठूलो मात्रामा तस्करी भई रहेको छ ।बदनाम प्रहरी कर्मचारीहरुलाई प्रहरी उपरिक्षक खतिवडाका साथै डिआईएजी चर्तुेवदीले नाका÷नाकामा खटाएर असुली चर्काएका छन् ।मधेश प्रदेशको सर्लाही,महोत्तरी र धनुषाबाट अहिले पनि दैनिक एक/दुई ट्रक रासायनिक मल,चिनी तथा कपडाहरु सिन्धुली हुँदै रामेछाप,दोलखाका साथै पुर्व पश्चीम राजमार्ग हुँदै काठमाण्डौँ जाने गरेको छ ।
सर्लाहीबाट दिनेश महतोले रासायनिक मल तथा चिनी नेपाली बोरामा पल्टी गरेर सिन्धुली हुँदै रामेछाप र दोलखा सम्म पुर्याउन,महोत्तरीका गरीब दासको चिनी र रासायनिक मल, जनकपुरका दामोदर सिँहको कपडा सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा स्थित रहेको रानी ईन्टरप्राईजेजका सञ्चालक सुजित साहले महोत्तरीको बर्दिवासदेखि दोलखासम्मको लाईन मिलाउने काम गर्ने गरेका तथ्य फेला परेको छ ।जिल्ला प्रहरी कायार्लय सिन्धुलीमा सरुवा भई आउने हरेक प्रहरी प्रमुखहरुलाई हातमा लिएर साहले ठूलो मात्रामा भन्सार छलीको काम गर्ने र भारतिय चिनी तथा रासायनीक मललाई नेपाली बोरामा पल्टी गर्ने तथा कपडा ईटा लगायत पराल र चामलको ट्रकमा हालेर यरीया कटाउने गरेको स्वीकार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान प्रकाश साउद र कमलामाई नगरपालिका ६ रातमाटा स्थित रहेको रानी ईन्टरप्राईजेजका सञ्चालक साहले जिल्ला हुँदै अन्यन्त्र जाने भन्सार छलीका सामानहरुका साथै नदीजन्य उद्योगहरु,काठहरु तस्करी,जुवा,तास,गाँजाका साथै देह व्यापारको रकम संकलन गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक लालध्वज सुवेदीलाई बुझाउने गरेका पाइएको छ।सर्लाहीको नवलपुरमा कार्यरत देखाएर असई रामप्रवेश यादवले समेत सिन्धुलीको पनि रकम असुलीको ठेक्का पाएका छन् । जसलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र बहादुर खड्काले पनि सादा पोशाकमा परिचालन गरेका छन्।आईजीपी दिपक थापाको मान्छे हुँ भन्दै असई यादवले सर्लाही र सिन्धुली मात्रै नभई मधेश प्रदेशका सबै जिल्लामा असुली चलाएका रहस्य बाहिरिएको छ ।