सिन्धुलीको दुधौली नगरपालिका को २३ औँ नगरसभा अधिवेशन मा करिब सवा एक अर्ब बजेट प्रस्तुत गरिएको छ।आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि रु एक अर्ब १२ करोड ५८ लाख अनुमानित बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गरि पारित गरिएको दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारुले जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास,भौतिक पूर्वाधार निर्माण, शिक्षा,स्वास्थ्य,कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।प्रस्तुत बजेटमा नगरवासीको जीवनस्तर उकास्ने,सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा दिगो विकासलाई टेवा पुग्ने कार्यक्रमहरू समावेश गरिएको दुधौली नगरपालिकाले जनाएको छ।नगर सभाबाट आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम,बजेट तथा विभिन्न प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मतिले पारित गरिएको हो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ रु ८३ करोड १२ लाख एक हजार तीन सय अर्थात् कुल बजेटको ७३ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ रु २९ करोड ४५ लाख ९८ हजार सात सय अर्थात् २६ दशमलव १७ प्रतिशत छुट्याइएको दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।उनका अनुसार बजेटको संरचनाले चालु खर्चको हिस्सा पूँजीगत खर्चको तुलनामा उल्लेख्य रूपमा बढी देखिए पनि नगरपालिकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन तथा सबै पक्षको सकारात्मक सहयोगबाट विकास खर्चलाई थप सन्तुलित बनाउँदै लैजाने अपेक्षा गरिएको छ।नगरसभाले पारित गरेको वार्षिक नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा नगरको विकास निर्माण,सेवा प्रवाह तथा आर्थिक(सामाजिक रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।
यता,गोलन्जोर गाउँपालिकाको १९ औँ गाउँसभा तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको छ। गाउँपालिकाका अध्यक्ष शंकर बरालले गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले जानकारी दिए।
उनका अनुसार अध्यक्ष बरालले गाउँसभा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने गाउँसभा सदस्य,जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण गोलन्जोर वासीहरुको विशेष उपस्थिति रहेको थियो।उनले आगामी दिनमा पनि “समृद्ध गोलन्जोर,सुशासित गोलन्जोर र जनमुखी सेवा”को लक्ष्यलाई आत्मसात् गर्दै विकास,सुशासन र समावेशी समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँसभाबाट आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम माथि छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको गाउँपालिकाले जनाएको छ।
दुई वटा नगरपालिका सहित सात वटा गाउँपालिका गरेर नौ वटा स्थानीय तह रहेको सिन्धुलीका प्राय कुनैपनि पालिकाहरुमा जनप्रतिनिधि हरु र कर्मचारीहरु विच विवदा छैन्।जसका कारण विगतका वर्षहरुमा झैँ यस वर्षपनि विना विवाद आगामि आथिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रम आउने सिन्धुलीबासीले अपेक्षा गरेका छन् । नेपाली कांग्रेस,नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट प्रया गठबन्धन गरेर स्थानीय तहहरुमा जनप्रतिनिधिहरु निर्वाचित भएका भएपनि विवाद कमै हुने गरेको छ ।